इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाह स्थित थारु टोलका अति विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत दिएको छ ।
नगरपालिकाले दिएको राहत सकिएर भोकभोकै परेका ४ घरपरिवारलाई आईतबार राहत सामग्री वितरण गरेको हो । राहत पाउनेहरुमा असर्फी मण्डल, सविता विश्वास, मेली विश्वास र सत्यनारायण धामी रहेका छन । उनीहरुलाई प्रति परिवार २० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक पोका खाने तेल र एउटा साबुन वितरण गरियो ।
राहत सामाग्री प्राप्त गरेपछि विपन्न परिवारहरु प्रसन्न भए । नगरपालिकाले दिएको १५ किलो चामल अस्ति सकिएकोले आफुहरुले खानै नपाएको उनीहरुले दुखेसो सुनाए । आफुहरुले पाउनुपर्ने बृद्धभत्ता समेत नपाईरहेको अवस्थामा घरैमा आएर राहत दिएकोमा वयोवृद असर्फी मण्डलले आरम्भका युवाहरुलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “अब यति चामलले हामीलाई दुई हप्ताजति पुग्छ ।”
सरकारी तवरबाट पाएको राहत समेत सकिएर भोकमारीमा परेका अति विपन्न स्थानीयहरुलाई आफ्नो संस्थाले यथासक्य राहत प्रदान गरिरहेको आरम्भका अध्यक्ष समिर सुवेदीले जानकारी दिनुभयो ।
उक्त थारु टोलका चार परिवारले नगरपालिकाबाट पाएको दाल चामल सकिएर चुलो बल्नै समस्या परेको सुनेपछि आफुहरुले उनीहरुको घरदैलोमा गएर खाद्य सामाग्री दिएको उहाँले बताउनुभयो ।
दाल चामलको अभावले चुलो बल्नै समस्यामा परेका स्थानीय विपन्नहरुले आफ्नो संस्थालाई जानकारी गराएमा त्यस्ता परिवारलाई आफ्नो संस्थाले लकडाउन अवधिभर यथासक्य सहयोग गरिरहने पनि अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो ।
राहत वितरणक्रममा अनौपचारिक कुराकानी गर्दै विपन्न बस्तीमा आएर भोकमारीमा परेका परिवारजनलाई खाद्य सामाग्री सहयोग गरेकोमा मदन–आश्रित फाउण्डेसनका अध्यक्ष मेघराज कट्टेलले आरम्भ परिवारलाई धन्यवाद दिनुभयो ।
देशव्यापी बन्दाबन्दीको यो विषम परिस्थितिमा गरिब परिवारलाई खाद्यसामाग्री वितरण गरी मानवीय सद्भाव प्रदर्शन गर्ने सिर्जनशिल युवाहरुको संस्था आरम्भबाट अन्य संघसंस्थाहरुले पनि सिक्नुपर्ने उहाँको भनाई छ । अझै पनि विहान बेलुकाको छाक जोहो गर्न धौधौ परेका परिवाहरु धेरै रहेको भन्दै त्यस्ता परिवारहरुको पहिचान गरी उनिहरुलाई सहयोग गर्न अध्यक्ष कट्टेलले आरम्भलाई आग्रह गर्नुभयो ।
सरस्वती माध्यमिक विद्यालयका शिक्षक थिरनाथ दाहालले आरम्भले विपन्न वस्तीमा गरेको सहयोगप्रति सराहना गर्नुभयो । राहतका लागि नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा भएको रकम रित्तिन लागेको आफुले सुनेको भन्दै यस्तो अवस्थामा सामाजिक संस्थाले यसरी सहयोग गर्नु महत्वपुर्ण विषय भएको उहाँले बताउनुभयो ।
मुख्य रुपमा कला साहित्यको फाँटमा काम गर्ने संस्था भएर पनि आरम्भले विपदको यस घडीमा महत्वपुर्ण सामाजिक योगदान गरेको शिक्षक दाहालको भनाई छ । केही दिन अघि खाद्यान्न संकटमा परेका वडा नम्बर १० देविस्थानका कमल ताँतीको परिवारलाई पनि आरम्भले खाद्य सामाग्री वितरण गरेको थियो ।