विराटनगर । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना इन्डोप्यासिफिक रणनीतिकै अंग भएको निष्कर्शमा नेकपाले गठन गरेको अध्ययन कार्यादल पुगेको छ ।
नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित तीन जना नेताहरु सम्मिलित कार्यदलले एमसीसी हिन्द प्रशान्त रणनीतिकै अंग भएको निष्कर्श निकाल्दै संशोधनका लागि ११ बुँदे सुझावसहितको प्रतिवेदन तयार पारेको बताइएको छ ।
नेकपाका नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसिसि आर्थिक योजना जस्तो देखिएपनि अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको रुपमा हिन्द प्रशान्त रणनीति भएको उल्लेख छ ।
एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसंग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न कार्यदलले सुझाव दिएको छ ।
कार्यदलले तयार पारेको सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै पारित गर्न नहुने पनि स्पष्ट गरेको छ ।
कार्यदलले तयार पवारेको सुझाव प्रतिवेदनप्रति भने कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले १५ बुँदे फरक मत राख्नुभएको बताएको छ । उहाँले एमसीसीको बारेमा अतिरञ्जीत प्रचार भएको दावी गर्नुभएको छ ।