चोरीको योजनामा साथीकै हत्या

सप्तरी । सप्तरीको हनुमाननगर कंकालनीमा चोरी गर्ने योजना बनाएको समूहले सोही समूहकै सदस्यको हत्या गरेको खुलेको छ ।

हनुमाननगर कंकालिनी – १ भारदहस्थित कोशी बाँधमा मृत फेला परेका सुरज साहलाई उनकै तीन साथीले हत्या गरेको प्रहरीले जनाएको छ ।

साहको हत्या गरेको आरोपमा प्रहरीले उनका साथीहरु सुजितकुमार मुखिया, कृष्णकुमार मुखिया र चन्द्रशेखर मण्डललाई पक्राउ गरेको छ । उनीहरुले घरेलु हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सुरजको शव ३० चैत २०७६ को राति कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । गाँजा सेवन गर्न कोशी बाँधमा भेला मृतकसहित हत्या आरोपी भेला भएका बेला चोरी गर्ने योजना बनाएको र कार्यान्वयन गर्न जाँदा सुरजको हत्या गरेको खुलेको छ ।

पक्राउ परेकाहरुले दिएको बयानअनुसार सुरजसँग भएको लागूऔषध सेवन गरेपछि कंकालिनी मन्दिर अगाडि पुगेको बेला नसारको सुरमा सुजितकुमारले ताल्चा काट्ने कटरले सुरजको टाउकोमा हानेको पाइएको छ । सुरज घटनास्थलमै ढलेपछि प्लास्टिकको बोरामा हालेर घाँटीमा कस्दै कुटपिट गरेका थिए ।

बाँधतर्फ लैजाने क्रममा सुरज जीवित रहेको आशंकामा खुकुरीले पुनः टाउकोमा हानेर शव त्यहीँ छाडेर गएको अभियुक्तहरुले बयान दिएको सप्तरी प्रहरीका डीएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

बुधबार, १७ बैशाख, २०७७, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर