विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारले ल्याएको अध्यादेश फिर्ता दिन माग गरेको छ । उसले अध्यादेश ल्याउने सरकारको निर्णय विरुद्ध सामाजिक संजालमार्फत सरकारलाई कालो झण्डा देखाएर विरोध गर्ने पनि निर्णय गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो आजको बैठकमा हामी हिजोको अध्यादेशबारे केन्द्रित भयौँ । संविधानको ठाडो उल्लंघन लोकतन्त्रको मूल्य र मान्यता विपरित उहाँले अध्ययनदेश ल्याउनुभएको हाम्रो ठहर छ ।’ यी अध्यादेश फिर्ता लिन माग गर्न माग गरेका छौँ ।’
बैठकले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रिन आग्रह गरेको छ । काँग्रेसले लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने लगायका कार्य अगाडि बनाउने महतले जानकारी दिनुभयो । ‘यतिबेला लकडाउनको अवस्था छ । जुन माध्यमबाट पनि सरकारका निर्णयको प्रतिवाद गछौँ । सामाजिक सञ्जालमा कालो झण्डा देखाउने लगायतका गतिविधि गर्छौँ । मुलत समाजिक सञ्जाल र सञ्चार माध्यमलाई प्रयोग गर्ने कुरा हो । त्यो सबै गरिन्छ । यसरी विरोधका सबैखाले उपाय अपनाउने निर्णय भएको छ ’, उहाँले भन्नुभयो ।
सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको महतले जानकारी दिनुभयो । बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेल उपस्थित थिए ।