विराटनगर । महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गरिन लकडाउनमा मोरङको उत्तरी क्षेत्रको वनमा काठको तस्करी बढेको छ ।
यहाँ रहेको वन क्षेत्रमा तस्करीमा संलग्न गिरोहले लकडाउनको फाइदा उठाउँदै काठको चोरी तस्करी गरिने गरेको पाइएको हो । मोरङको केराबारी गाउँपालिका – ७ मा रहेको लाटीझोडा साझेदारी वन भित्र काठ तस्करी गर्ने क्रममा आज साँझ एक जना पक्राउ परेका छन् ।
सव डिभिजन वन लाटीझोडा र सशस्त्र वन रक्षक सलकपुरको संयुक्त टोलीले काठको तस्करी गरेको आरोपमा केराबारी ७ का ४१ वर्षीय रोबिन कुमार घिमिरेलार्इ पक्राउ गरेको हो । घिमिरेलाई वन रक्षकहरूले काठ तस्करी गर्दै गर्दा रंगेहात पक्राउ गरेको केराबारी वन सव डिभिजन कार्यालय प्रमुख विक्रम आमात्यले बताउनु भयो ।
‘लकडाउनको फाइदा उठाउँदै लाटीझोडा साझेदारी वनमा काटको तस्करी हुने गरेको गोप्य सूचना आएको थियो,’ उहाँले भन्नुभयो, ‘वन रक्षक र सशस्त्र वन रक्षक सलकपुरबाट खटिएको टोलीले ५ सय मिटर लखेटेर तस्करीमा संलग्नलाई पक्राउ गरिएको हो ।’
काठ तस्करीमा ५/६ जनाको समुह भएपनि अन्य मोटसाइकलमा फरार भएको सब डिभिजन प्रमुख आमात्यले जानकारी दिनुभयो । घिमिरेलाई अन्यले छोडेर फारर भएपछि वन रक्षकहरुले लखेटेर समातेका हुन् । उनीहरूले कर्मा जातको ३८.५० क्यूफिट काठ जंगल भित्र चिरानी गरि तस्करी गरिने क्रममा वन रक्षकहरुले पक्राउ गरेको लाटिझोटा साझेदारी वनका अधिकृत दिवस चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका घमिरे यसअघि पनि अपराधिक क्रियाकलपामा संलग्न रहेको पाइएको छ । पक्राउ परेका घिमिरेलाई वन ऐन २०७६ अन्र्तगत कारबाहीको प्रक्रिया अगाडी बढाउने डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।
मोरङमा १ सय ३४ सामुदायिक, ४ साझेदारी र १२ वटा धार्मिक वन रहेको डिभिजन वन कार्यालय मोरङका प्रमुख (डिएफओ) बिशाल घिमिरले जानकारी दिनुभयो । यी वनमध्ये उत्तरी क्षेत्रको चारकोशे वन क्षेत्रमा ‘लकडाउन’को फाइदा उठाउँदै काठको चोरी तस्करी र वन्यजन्तुको शिकारी बढेको घिमिरले बताउनु भयो । उहाँका अनुसार गत २१ चैतमा सुन्दरहरैचा नगरपालिका स्थित लोहन्द्रा केराबारी साझेदारी र सलकपुर सामुदायिक बनको मध्य भागको वन क्षेत्रमा सिकारी र वनरक्षकबीच गोली हानाहान भएको थियो ।
लकडाउनको मौका पारेर बन्यजस्तुको तस्करी गरिने केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षीय गम्बरबहादुर जोगी, २७ वर्षीय किसन कार्की र झापा बुद्धशान्ति ३ का किरण धिमाललाई पक्राउ परेका थिए ।
शिकारीले आफ्नो बचाउमा ९ राउन्ड गोली चलाएका थिए भने गस्तीका संयुक्त टोलीले जवाफी ७ राउन्ड हवाई फायर गरेको थिए । पक्राउ परेको ३ जनाको साथमा २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा बरामद भएको थियो ।
लकडाउनले गर्दा वन क्षेत्रमा काठ र वन्यजस्तुको चोरी तस्करी गरिने प्रवृत्ती बढेर गएको डिभिजन वन कार्यालय प्रमुख घिमिरले बताउनु भयोृ । ‘लकडाउनले गर्दा अहिले गाउँहरूमा कामहरू हुने गरेको छैन । बेरोजगार केही मान्छेहरू वन क्षेत्रमा गएर अपराधिक क्रियालकपमा संलग्न भएका छन्,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी बढेर गएपछि हामीले नियमित गस्तिलाई बढुवा दिएका छौंं ।’