लोड हुँदैछ...

मेनु

बालबालिकाको खोप रोकियो, दादुरा रोगी बढे

बालबालिकाको खोप रोकियो, दादुरा रोगी बढे

विराटनगर । महिना दिनअघि जन्मेको छोरालाई खोप लगाउन विराटनगर ५ का रमेश अधिकारी कोशी अञ्चल अस्पताल विराटनगर पुगे । तर, हाललाई खोप कार्यक्रम बन्द गरिएको जानकारी अस्पताल प्रशासनले दिएपछि उनि बच्चालाई खोप नलगाई घर फर्के ।

सोही ठाउँकी जुनु रिजालको ३ महिनाको बच्चा छ । कोरोना माहामारीपछि भएको लकडाउनका कारण खोप लगाउन नपाएको उनको पनि गुनासो छ । नियमित लगाउनुपर्ने खोप जनस्वास्थ्य कार्यालयले औषधि नपठाएको कारण देखाउँदै स्वास्थ्य संस्थाले सर्वसधारणलाई यतिकै फर्काउने गरेको छ ।

कोशी अञ्चल अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जनस्वास्थ्य कार्यालयले हाललाई औषधि नपठाएका कारण नियमित खोप स्थगित भएको जानकारी दिनुभयो । नेपालमा जन्मनेवित्तिकै क्षयरोग विरुद्धको बिसीजी खोप, जन्मिएको ६ हप्तामा भ्यागुतेरोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी र हेमोफिलस इन्फ्लुइन्जा बी, पोलियो र निमोनिया विरुद्ध डिपिटी, हेप बि हिब पोलियो, पिसिभी पहिलो पटक, १० हप्तामा दोस्रो पटक, १४ हप्तामा तेस्रो पटक, ९ महिनामा पिसिभी तेस्रो पटक लगाइन्छ । यस्तै १२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्ध र १५ महिनामा दादुरा र रुबेला विरुद्ध खोप लगाइन्छ ।

नेपाललाई यि खोप कार्यक्रमका लागि विश्व स्वास्थ्य संगठन, युनिसेफले आर्थिक सहयोग गरेका छन् । यसबाहेक नेपालले विभिन्न भिटामिन खुवाउने कार्यक्रम, औलो विरुद्धको खोप कार्यक्रमहरु पनि बेलाबेलामा प्रभावित क्षेत्रमा गर्ने गरेको छ ।

हालै विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा महामारीको रुप नलिनुमा कतिपयले नियमित खोप पनि एउटा कारण हुनसक्ने र रोगप्रतिरोधी क्षमता नेपालीमा सोही कारण बढी भएको कतिपयले तर्क गरिरहेका छन् । तर, हाल ति सबै कार्यक्रम स्थगित हुँदा आम सर्वसाधरणले आफ्ना बालबच्चालाई खोप लगाउन पाएका छैनन् ।

अहिले स्वास्थ्य मन्त्रालय तथा सेवा विभाग पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेकाले खोप कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको अधिकारीहरुले बताएका छन् ।

खोपको ‘चेन’ बिग्रियो

चाहिएको खोपको परिणाम आपूर्ति हुन नसक्ने तथा स्वास्थ्यकर्मीलाई वितरण गरिने रकम अभावका कारण पनि विगतमा खोप कार्यक्रम प्रभावित हुँदै आएको थियो।

स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा जिम्मा लगाएपछि कति बालबालिकालाई कुन(कुन खोप लगाइँदैछ भन्ने तथ्याङ्क पाउन मुस्किल परेका बेला बन्दाबन्दी भएपछि रोकिएको खोपको ‘चेन’ पुनः बिग्रने स्थितिमा पुगेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

अहिले नै खोपको श्रृङ्खला बिग्रेको अवस्था भएको र खोप नपाउने अवस्था आए सङ्क्रामक रोगको प्रकोप झन् भयावह हुन सक्ने उनीहरुको भनाइ छ ।

दादुरा रोगीको संख्या बढ्यो

यसैबीच सन् २०२० मा नेपालमा मात्र दादुराका १२५ बिरामी फेला परेको स्वास्थ्य सेवा विभागले बताएको छ।

गत फागुन र चैत महिनामा सञ्चालित ‘दादुरा–रुवेला खोप अभियान’ पनि पूर्ण हुन नपाएकाले दादुराका बिरामी अझ बढ्ने जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

विभागका अनुसार अभियानमा तीस लाख बालबालिकामा खोप लगाउने भनिएकोमा चैत १० पछि अभियान रोकिँदा १० लाख बालबालिकाले खोप लगाउन पाएनन् ।

त्यसपछि गरिएको बन्दाबन्दीले सम्पूर्ण खोप कार्यक्रम नै प्रभावित भएको विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक गौतमले बताउनु भयो ।

सन् २०२० मा दादुराका बिरामीहरू ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएको छ । विभागका अनुसार सन् २०१९ मा देशभर दादुराका बिरामीको सङ्ख्या ४ सय ३० रहेको थियो ।

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोगहरू बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।