चार जनाको टोली परीक्षणमा सक्रिय/पाँच घण्टामा रिपोर्ट आउने
विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोनाको परीक्षण सुरु भएको छ । शुक्रबार साँझबाट परीक्षण थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो ।
पहिलो चरणमा २५ जनाको परीक्षण हुने अस्पतालले जनाएको छ । परीक्षणको रिपोर्ट ५ घण्टामा आउने बताइएको छ ।
कोशीमा कोरोना परीक्षणको लागि वीर अस्पताल काठमाडौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमको नेतृत्वमा चार जनाको टिम खटिएको छ । टिममा काठमाडौंबाटै आएका अर्का विज्ञ तथा अस्पतालमा कार्यरत प्रकाश कार्की र ललितनाराण चौधरी सहभागी छन् ।
पहिलो चरणमा परीक्षणको लागि उदयपुरबाट २ वटा, मोरङको टाँडीबाट ३ वटा, इनरुवाबाट ७ वटा, झापाबाट १३ वटा नमुना ल्याइएको छ । विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकलसहितका सामान बिहीबार हेलिकप्टरबाट ल्याइएको थियो ।
कोरोनाको परीक्षण सुरु हुनु कोशी अस्पतालको लागि ऐतिहासिक भएको भन्दै मेसु डा. मिश्रले त्यसको साक्षी हुन पाएकोमा सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्नुभएको छ । परीक्षणमा खटिएको टिमलाई उहाँले धन्यवाद दिनुभएको छ ।
काठमाडौंपछिको ठूलो क्षमताको ल्याब स्थापना भएकोले कोशी अस्पतालमा दैनिक २ सय जनाम्मको नमुना परीक्षण हुनसक्ने बताइएको छ । कोरोना परीक्षणको काम यसअघि काठमाडौं बाहिर पहिलो पटक सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानबाट सुरु भएको थियो । प्रतिष्ठानको ल्याबको क्षमता सानो रहेकोमा कोशीको क्षमता ठूलो भएकोले अब प्रदेशमा कोरोनाको परीक्षण सहज हुने अस्पतालले जनाएको छ ।
कोरोना परीक्षण ल्याबको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित सामाजिक विकासमन्त्री जीवन घिमिरेले निरीक्षण गर्नुभएको थियो । फोटोः डा.संगिता मिश्र