भोको पेट भर्दै युवाहरू

सडक पेटीमै रात बिताउने बेसहारा तथा ज्याला मजदुरी गर्ने गरिवहरूलाई ठाउँठाउँमै खाना पुर्याउँछन् विराटनगरका युवाहरू

विराटनगर । सडक पेटीमा बसेर रात बिताउन बाध्य बेसहारालाई विराटनगरका सक्रिय युवाहरुको समूहले निःशुल्क खाना खुवाउँदै आएको छ ।

विभिन्न दाताहरुको सहयोग र स्वयंमको खर्च व्यवस्थापनमा युवाहरूले जो–जहाँ छन् त्यहीँ पुगेर खाना खुवाउँदै आएका हुन् । विराटनगरको ट्राफिक चौकस्थित पप्पु अन्सारीले सञ्चालन गर्दै आउनुभएको रोयल बिर्यानी हाउसमा खाना पकाएर प्याक गरी प्रत्येक दिन वितरण गर्दै आएका छन् । लकडाउन अवधि भर उक्त अभियानलाई निरन्तरता प्रदान गर्ने युवा अभियन्ता वसिम आलमले बताउनुभयो ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले विगत तीन हप्ताअगाडिदेखि लकडाउन आव्हान गरेको छ । लकडाउन बढ्दै जााँदा सडक पेटीमा बास बस्नेहरूमा भोकमरीको अवस्था आउन नदिन अभियान संचालन गरिएको हो ।

दैनिक २ सयदेखि अढाई सय जनालाई खाना खुवाउँदै आएको युवा अभियन्ता पेरिस सुवेदीको भनाइ छ । सो युवाको समूह दैनिक बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ७ बजेदेखि ८ बजेसम्म खाना खुवाउँदै हिंड्ने गर्दछन् ।

उनीहरुले हालसम्म १ हजार बढीलाई खाना खुवाइसकेका छन् । उक्त अभियानमा भने विराटनगरका वसीम आलम, पेरिस सुवेदी, भुषण पोमु लिम्बू, सन्जु सापकोटा, दिपेन मरिक, पप्पु अन्सारी, भवेश पौडेल, गणेश शाह, चिरञ्जीवी आचार्य, गोपाल देबकोटा र संजय श्रेष्ठलगायतका युवा सहभागी छन् ।

सरोचियामा पनि अभियान

विराटनगर–६ सरोचियाका स्थानीयले पनि निःशुल्क खाना खुवाउने अभियानको थालनी गरेका छन् ।

बुधबारदेखि दुई छाक खान नपाएकाहरुलाई लक्षित गरेर १ हप्तासम्मको लागि अभियानको सुरुवात गरिएको हो । विराटनगर–६ शलेस मन्दिर पश्चिम गणेश राईस मिलको प्राङ्गणमा खाना खाने व्यवस्था मिलाईएको छ । सरकारले तोकेको सामाजिक दूरीलाई पूर्ण पालना गर्दै दैनिक २ सय देखि २ सय ५० जनालाई निःशुल्क खाना खुवाउँदै आएको अभियान्ता रामेश्वर मण्डलले बताउनुभयो ।

त्यस्तै खाना खान आउनेहरुलाई निःशुल्क मास्क पनि वितरण गर्ने गरिएको उद्योगपति शङ्कर शर्माले बताउनुभयो । उहाँले स्वयंमले सञ्चालन गरेको पूजा होजियारीमा उत्पादन गरेको मास्क आवश्यकता अनुसार सबैलाई वितरण गर्दै आएको जानकारी दिनुभयो ।

शुक्रबार, २८ चैत, २०७६, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर