वडा तहसम्मै सर्वदलीय कमिटी

नटेर्ने निजी अस्पताल सरकारीकरण गर्न सुझाव

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ मा गठन भएको सवैदलीय कमिटीले वडा तहसम्म सर्वदलीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला, स्थानीय तह र वडासम्म सर्वदलीय कमिटी गठन गर्ने निर्णय गरेको हो । सम्भावित प्रकोपबाट सुरक्षित रहने समग्र कार्ययोजनालाई प्रभावकारी कार्यन्वयन गर्न वडा तहसम्मको सर्वदलीय कमिटी सक्रिय बनाउने निर्णय पनि भएको छ ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको अभियान सञ्चालन तथा बनेका कार्ययोजना कार्यान्वयनका क्रममा आवश्यक सुझाव लिन सात सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ ।

सल्लाहकार समितिमा नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्य, काग्रेंस केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेकपा प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्ले, केन्द्रीय सदस्य गुरु बराल, संघीय समाजवादीका नेता जयराम यादव, नेपाली काग्रेंसका नेता पवन सारडा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्दिरा राई रहनुभएको छ ।

सर्वदलीय कमिटीले बुझायो प्रतिवेदन

तीनै तहका सरकारहरुको निर्णय र कार्ययोजना कार्यान्वयन सम्वन्धी स्थलगत अनुगमन गरेर सर्वदलीय कमिटीले प्रदेश सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

सरकारलाई बुझाएको प्रतिवेदनमा लकडाउन पूर्णरुपमा पालना नभएको र सामाजिक दुरी ख्याल नगरीकोले कुनैपनि भयावह अवस्था आउनसक्ने तर्फ सचेत गराइएको छ ।

अस्पतालहरु तथा क्वारेन्टायनहरुमा स्वास्थ्यकर्मी र चिकित्सकहरुको अभाव रहेको, स्वास्थ्य औजार र सामग्रीको अभाव रहेको, आइसोलेसन वेड, आइसियु र भेन्टिलेटर अपुग भएको भन्दै त्यस तर्फ प्रयाप्त ध्यान दिन प्रतिवेदन मार्फत प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

प्रतिवेदनमा औषधी भण्डारण सकिदै गएको, सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको, क्वारेन्टाइनको बसाई जेलजस्तो भएकोले मानिसहरुले १४ दिनमै घर पठाउन दवाव दिने गरेको जस्ता समस्याहरु अनुगमनका क्रममा भेटिएको उल्लेख छ ।

दैनिक उपभोग्य वस्तु र खाद्यान्न आपुर्तिमा असहजता उत्पन्न भएको राहत र विकास निर्माण सम्वन्धी बजेटको नीतिगत जटिलता समाधान भएको, विद्यार्थी, मजदुरहरुको व्यवस्थापन र उनीहरुलाई उचित सम्वोधन नभएको, राहत वितरणमा भीडभाड्र भएको र व्यवस्थापनमा ध्यान नपुगेको, राहत दिनुपर्ने व्यक्तिको छनौट सहिढंगले नभएको जस्ता समस्याहरु अनुगमनका क्रममा भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वदलीय कमिटीले सरकारले केही महत्वपूर्ण सुझावहरु पनि दिएको छ । स्वास्थ्यकर्मीलाई विशेष पारिश्रमिक र प्रोत्साहन भत्ता र बीमाको व्यवस्थापन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । आवश्यक स्वास्थ्य सामग्री र औषधिको तत्काल व्यवस्था मिलाउन र प्रदेशभरी रहेका चिकित्सकहरुको लगत तयार गरी तत्काल परिचालन गर्नसक्ने गरी योजना बनाउन पनि सरकारलाई सुझाव दिइएको छ ।

सरकारको नीति अनुसार नचल्ने निजी अस्पताल तथा क्लिनिकहरुलाई सरकारीकरण गर्न वा दर्ता खारेज गर्ने योजना र विधि तय गर्न पनि सुझाव दिइएको छ ।
क्वारेन्टाइन अवधि पुगेकाहरुको स्वास्थ्य परीक्षण लगायत आवश्यक व्यवस्थापनका काम गर्न र दैनिक उपभोग्य वस्तुको सहज आपुर्ति व्यवस्था मिलाउने तर्फ ध्यान दिन सरकारलाई सुझाव दिइएको छ ।

नेपाल प्रवेश गर्ने हरेक मालबहाक सवारी साधनलाई अनिवार्य सेनिटाइजको प्रवन्ध गर्न पनि सुझाव दिइएको छ । सार्थ अवैधरुपमा भारतबाट नेपाल प्रवेश गर्नेहरुको निगरानी बढाउन र प्रभावकारी नियन्त्रण गर्न सुझाव दिइएको छ ।

समितिले प्रदेश योजना आयोगको अगुवाइमा अर्थशास्त्री, योजनाविद्सहित सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी कोरोना संक्रमण पछि प्रदेशको अर्थतन्त्र माथि उठाउने योजना तत्काल तयार पार्न पनि सरकारलाई सुझाव दिएको छ ।

सर्वदलीय कमिटीद्वारा गठित सल्लाहकार समिति
क्रसं. नाम राजनीतिक आबद्ध दल सम्प्रर्क विवरण
१ भिमप्रसाद अमचार्य नेकपा. (नेकपा) ९८४१९८३९७७
२ डा. सेखर कोईराला नेपाली कांग्रेस ९८५१०५५४११
३ सावित्रीकुमार काफ्ले नेकपा. (नेकपा) ९८५२०२८०६९
४ गुरु बराल नेकपा. (नेकपा) ९८५२०४५८००
५ जयराम यादव समाजवादी पार्टी ९८५२०२७५०३
६ पवन सारडा नेपाली कांग्रेस ९८५२०२०१२८
७ ईन्दीरा राई राष्ट्रिय प्रजातन्त्र पार्टी ९८४२६२०२१३

प्रदेश १ सर्वदलीय कमिटीः
क्रसं. नाम पद राजनीतिक आबद्ध दल सम्प्रर्क विवरण
१ देवराज घिमिरे संयोजक नेकपा. (नेकपा) ९८५१०३८३३२
२ सुरेशकुमार राई सदस्य नेकपा. (नेकपा) ९८५१००१६४३
३ राजीव कोईराला सदस्य नेपाली कांग्रेस ९८४२०४८१३६
४ डिगबहादुर लिम्बू सदस्य नेपाली कांग्रेस ९८५२०२६५४०
५ प्रविण चाम्लिङ सदस्य समाजवादी पार्टी ९८५२६७०५८३
६ राजकुमार यादव सदस्य समाजवादी पार्टी ९८५२०२०६५१
७ बिष्णु तुम्माम्फे सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९८५१२३१३५३
८ असोक चेम्जोङ सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९८५११८७०१९
९ राम थापा सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी ९८४२७६०१८४
१० बासुदेव भट्टराई सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी ९८४२७०९०३४

बिहिबार, २७ चैत, २०७६, साँझको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर