काठमाण्डौ । नेपाल वायुसेवा निगमको विमान चार्टर गर्दा कमिसन खान एजेण्ट छिराएको सम्बन्धमा अख्तियारले छानबिन थालेको छ । कमिसन प्रकरणबारे बुझ्न अख्तियारले शुक्रबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई अख्तियारमा बोलाएको थियो ।
अख्तियारले निगमका प्रबन्ध निर्देशक चन्द र निर्देशक दाहाललाई बयानका लागि अख्तियारमा बोलाएको भए पनि कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाल भने उपस्थित भएका छैनन् । उनको स्थानमा कमर्सियल डिपार्टमेण्टकै उपनिर्देशक दिक्पाल सुवेदी बयानका लागि अख्तियार पुगेका छन् ।
अख्तियारले बिहीबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दलाई सम्पर्क गरी निगमको चार्टर्ड फ्लाइटमा एजेण्ट घुसाएर कमिसन खाएको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थित हुन निर्देशन दिएको थियो । अख्तियारको बोलावटपछि प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका उपनिर्देशक दिक्पाल सुवेदी बयानका लागि शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा अख्तियार पुगेका छन् । उनीहरु निगमकै बा १ ञ २४६६ नम्बरको सुजुकी कारमा अख्तियार पुगेका हुन् ।
रातोपाटीबाट