विराटनगर । भारतको दिल्लीमा केही समय अघि आयोजना भएको मुस्लिमहरुको धार्मिक सभामा भाग लिएर फर्किएका मोरङका व्यक्ति सम्पर्कमा रहेको मोरङ प्रहरीले जनाएको छ ।
भारतको दिल्लीमा आयोजित सभामा भाग लिन मोरङबाट दुई जना व्यक्ति गएको भन्ने सूचनाका आधारमा खोजी गर्दा एक जनामात्रै गएको पुष्टि भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभएको छ ।
‘हामीले मोरङका दुई जना व्यक्रि दिल्लीको कार्यक्रममा भाग लिन गएका थिए भन्ने सूचना पाएका थियौं,’ एसपी अधिकारीले भन्नुभयो ‘बुझ्ने क्रममा दुई जनामध्ये एक जना भारतीय नै भएको र उनी यता नआएको पाइयो । आएका व्यक्ति हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’
दिल्लीमा भएको कार्यक्रममा सहभागी हुन नेपालबाट १९ जना गएको र ति मध्ये मोरङका दुई जना थिए भनिएको थियो ।
विराटनगर रानी घर भएका ती व्यक्ति मार्च १० का दिन विराटनगर आइपुगेका थिए । उनी नेपाल फर्किएको २३ दिन बितिसकेको छ । उनी बिरामी नभएको र परिवारका अरु सदस्यहरु पनि बिरामी नभएकोले तत्काल केही समय होम क्वारेन्टाइनमै बस्न भनिएको एसपी अधिकारीले जानकारी दिनुभएको छ ।