विराटनगर । प्रदेश सरकारले विराटनगरमा बनाइरहेको कोरोना विशेष अस्पताल आइसियु र भेन्टिलेटर सुविधा सहितको हुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभएको छ ।
नेशनल ट्रेडिङ कर्पोरेशनको पुरानो भवन मर्मत सम्भार गरेर प्रदेश सरकारले तयार पार्दै गरेको ५० शय्याको कोरोना विशेष अस्पतालमा छ वटासम्म भेन्टिलेटर राख्ने तयारी छ । ‘प्रदेश राजधानी विराटनगरमा ५० वेडको कोरोना अस्पताल बनिरहेको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘यो अस्पतालमा आइसियु र छ वटासम्म भेन्टिलेटर हुने छ र कोरोनाका बिरामीलाई उपचार गर्न आवश्यक सबै उपकरणयुक्त हुनेछ ।’ निर्माणाधीन अस्पताल अब दुई दिन पछि सञ्चालनमा आउने पनि मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
प्रदेशमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएको अवस्थामा के गर्ने भन्ने तयारी सरकारले गरेको मुख्यमन्त्री राईले बताउनुभयो । त्यतिबेला सरकारी अस्पतालको अतिरिक्त सबै निजी क्षेत्रका ठूला अस्पतालहरुलाई कोरोना विशेष अस्पतालको रुपमा परिणत गर्ने उहाँले बताउनुभयो ।
अहिले आवश्यक परेको खण्डमा सरकारलाई अस्पताल उपलव्ध गराउन तयार छौं भनेर निजी अस्पतालका सञ्चालकहरुले भनिनै रहेका छन् तर उनीहरुले अरु रोगले बिरामी भएकाहरुको पनि उपचार गरिरहेका छैनन् । यस्तो विरोधाभास व्यवहार गरिरहेका निजी अस्पतालका सञ्चालकहरुअसन्तुष्ट रहनुभएका मुख्यमन्त्री राईले विपद्को अवस्था आएमा सरकारले विशेष निर्णय गरेर निजी अस्पतालहरुलाई आवश्यकताका आधारमा प्रयोग गर्ने स्पष्ट गर्नुभयो ।
‘अहिले अस्पताल सञ्चालन खर्चमात्र दिए कोरोना विशेष अस्पतालको रुपमा चलाउन दिन्छौं भनेर निजी अस्पतालका सञ्चालकहरुले भनिरहनुभएको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘तर उहाँहरुले कतिपय विरामीको उपचारमा ध्यान दिनुभएको छैन, संक्रमण फैलिएको अवस्थामा उहाँहरुले अस्पताल दिन्छौं भनिरहनै पर्दैन सरकारले विशेष निर्णय गरेर निजी अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्छ ।’ उहाँले विरामीको उपचार पाउने अधिकार हनन् नगर्नसमेत निजी अस्पतालहरुलाई सचेत गराउनुभएको छ ।
क्वारेन्टाइन र आइसोलेनस
प्रदेश १ मा ३ हजार ४५४ क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको मुख्यमन्त्री राईले बताउनुभएको छ । विभिन्न २१५ स्थानमा ति क्वारेन्टाइन वेडहरु निर्माण गरिएका छन् । तर प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टायन करिव एक हजार वेडको छ । त्यसमा सबै मापदण्डहरु पुरा भएका छन् । अरु क्वारेन्टाइनको मापदण्ड भने पुरा नभएको हुनसक्ने भन्दै त्यसलाई आवश्यकताका आधारमा स्तरोन्नति गर्ने उहाँले जानकारी दिनुभयो ।
यसैगरी संक्रमितहरुको संख्या बढेको अवस्थामा आइसोलेसनमा राख्नुपर्ने अवस्थालाई मध्यनजर गरेर प्रदेशका विभिन्न अस्पतालहरुमा ३ सय ८५ शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको मुख्यमन्त्री राईले जानकारी दिनुभएको छ । प्रदेश सरकारले तोकेको अस्पतालहरुमा ती शय्याहरु तयारी अवस्थामा राखिएका हुन् । प्रदेश १ को ठूलो अस्पताल बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगरको कोशी अस्पताल, झापाको मेची अस्पताल तथा केही जिल्ला अस्पताल र निजी अस्पतालहरुमा त्यस्तो आइसोलेसन वेडको प्रवन्ध गरिएको उहाँले बताउनुभयो ।