विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आज (विहिबार) थप २१ लाख एक हजार रुपैयाँ थपिएको छ ।
योसहित कोषमा ११ करोड २१ लख ९५ हजार नौ सय ४४ रुपैयाँ कोषमा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
आज यो कोषमा कुमारी बैंक लिमिटेडले १० लाख, माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख, गरिमा विकास बैंकले ५ लाख र निर्माण व्यवसायी संघ मोरङले एक लाख एक हजार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।
यसैबीच नेपाल उद्योग परिसंघले ११ लाख बराबरको खाद्यान्न सामाग्री प्रदेश सरकारलाई उपलब्ध गराएको छ । मुख्यमन्त्री राईलाई परिसंघको तर्फबाट चामल, दाल, नुन, तेल र चिउरा सहितको खाद्यान्न सामाग्री परिसंघले उपलब्ध गराएको हो ।
एनआईसी एशिया बैंकले पनि पाँच लाख बराबरको खाद्यान्न सामाग्री आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।