विराटनगर । कोरोना भाईरसको सङक्रमण नियन्त्रण तथा न्युनीकरण गर्न लकडाउन गरिएको छ । लकडाउनमा सुरक्षा व्यवस्था कडा पार्दा भाइरस फैलिने जोखिम न्यूनीकरण भएपनि आम सर्वसाधारणको जनजीवन भने दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।
सानोतिनो व्यापार व्यवसाय तथा खुद्रा पसल सञ्चालन गरेर जिविकोपार्जन गर्नेहरुलाई दुई छाक टार्न धौधौ परेको छ । पसल खोल्न घरबाहिर निस्कदा सुरक्षाकर्मीहरुले उनीहरुलाई सावधानी र सर्तकता अपनाउनुपर्छ भन्दै बिच बाटोमै रोकेर राखेका छन् । न त पसल सञ्चालन गरेर पेट भर्ने स्थिति छ, न त सरकारको कुनै सहयोग नै ।
विराटनगर–१० निवारी बिरु शाहको परिस्थित पनि यस्तै छ । उहाँको गुद्री बजारमा तरकारी पसल छ । उहाँ बिहीबार बिहानै ६ बजे आफनो तरकारी पसल खोल्न घरबाट निस्कनुभयो । तर पसल नपुग्दै पञ्चमुखी हनुमान मन्दिर छेउमा उहाँलाई प्रहरीले रोक्यो र उहाँको साइकल पनि नियन्त्रणमा लियो । २ घण्टा बितिसक्दा पनि उहाँले आफ्नो साइकल फिर्ता पाउनुभएन र त्यही रोकिनुुभयो ।
त्यस्तै विराटनगर–१० निवासी मोहम्मद जुमराती खेतीपाती गरेर आफ्नो घरपरिवार चलाउनुहुन्छ । उहाँ युरिया खरिद गर्न बजार निस्कनुभएको थियो । तर पञ्चमुखी हनुमान मन्दिर छेउमा भएको चेकजाँचको क्रममा प्रहरीले उहाँको पनि साईकल नियन्त्रणमा लियो । उहाँ भन्नुहुन्छ, ‘बजारमा खाद्यमल बिक्री वितरण हुने सबै पसलहरु खुल्ला छन । सर्वप्रथम ती सबै पसलहरु बन्द गरियोस, हामी घरबाहिर निस्कदैनौ ।’
त्यसैगरी प्रशासनले कडाई गर्दा बजारमा तरकारी किन्न आउने ग्राहकहरुको सङख्या पनि घट्दै गएको विराटनगर गुद्री बजारका खुद्रा तरकारी व्यापारी बिमल मुखियाले बताउनुभयो । उहाँले तरकारी खरिद गर्न आउने उपभोक्ताहरुको सङ्ख्यामा न्यूनीकरण भएपछि दिनहुँ तरकारी सडने, गल्ने र खेर जाने गरेको बताउनु भयो ।
‘लकडाउन’ पालनामा कडाई
कोरोना भाइरसको फैलिँदो क्रम र बढ्दो जोखिमलाई मध्यनजर गर्दै नेपालमा चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । सरकारले लकडाउनमा अत्यावश्यक कार्यबाहेक अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरेपनि विराटनगरको हकमा भने त्यसको कुनै पालना हुन सकेको थिएन ।
सम्बन्धित विषयवस्तुलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कडाई गर्दा हाल विराटनगरको स्थितिमा सुधार आएको छ । लकडाउन जारी भएको मितिदेखि आज चैत्र २० गते यो समाचार तयार पार्दासम्म मोरङ्ग प्रहरीले १ हजार १ सय ५७ वटा सवारीसाधन र ६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । मोरङ्ग प्रहरीले ७ सय २३ वटा मोटरसाईकल, ५१ वटा स्कुटी, २२ वटा कार÷भेन, १४ वटा ट्रयाक्टर, २५ वटा ट्रक, ३८ वटा सिटी÷टेम्पो तथा २ सय ८४ वटा साईकल गरी ११ सय ५७ वटा सवारीसाधन नियन्त्रणमा लिएको मोरङ्ग प्रहरीले जनाएको छ ।
सर्वसाधारणले अनेकौ बहाना बनाउँदा पनि सत्यतथ्यको पहिचान गरी अत्यावश्यक काम परेकालाई जान दिइएको र अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय विराटनगरका ईन्स्पेक्टर विज्ञान बस्नेतले बताउनुभयो ।