केराबारीमा राहत वितरण

केराबारी । लकडाउनको कारण काम गर्न नपाएपछि समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई मोरङको केराबारी गाउँपालिकाले राहत वितरण गर्न थालेको छ ।

गाउँपालिकामा रहेका कोही पनि नागरिक भोकै मर्न नदिने भन्दै गाउँपालिकाले बुधबारदेखि राहत वितरण सुरु गरेको हो ।

गाउँपालिकाभित्रका विपन्न र दैनिक ज्यालादारी गर्नेहरुको तथ्यांक संकलन गरेर राहत वितरण थालिएको गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बताउनुभयो । प्रत्येक वडाका टोलविकास समिति मार्फत विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका विपन्न परिवारको तथ्यांक संकलन गरिएको छ । गाउँपालिकामा १ हजार ५ सय २० घरपरिवारलाई राहत वितरण गर्नुपर्ने देखिएको छ ।

पहिलो चरणमा गाउँपालिकाको वडा नं.१, २ र ३ मा वडाध्यक्षहरुमर्फत बुधबार खाद्य सामग्री वितरण गरिएको छ । वडाबाट छनौट भइ आएकामध्ये वडा नं. १ मा ११२, वडा नं. २ मा ६७ र वडा नं. ३ मा ७५ गरी २५४ घरपरिवारको लागि ४ हजार ३ सय २० केजी चामलसहितको खाद्य सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाँकी वडामा पनि बिहीबारदेखि नै हस्तान्तरण गर्ने तयारी गाउँपालिकाले गरेको छ । गाउँपालिकाले ५ जनासम्म परिवार भएकालाई प्रतिपरिवार १५ केजी र त्योभन्दा बढि संख्या भएका परिवारलाई २० केजीका दरले चामल वितरण गरेको छ । यस्तै २ केजी नुन, १ केजी दाल र १ केजी तेल वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेलले जानकारी दिनुभयो ।

विपन्न र ज्यालादारीमा काम गर्ने परिवारका लागि राहत सामग्री खरिद गर्न र आवश्यक रकमको व्यवस्थापन गाउँपालिकाले कोरोना भाइरस प्रतिकार्य समन्वय समिति गठन गरी राहत कोषसमेत संञ्चालनमा ल्याएको छ । विभिन्न दाता तथा संघसंस्थाबाट प्राप्त रकमहरुलाई एकिकृत गरी एकद्धार प्रणालीमार्फत वितरण गर्ने तयारी छ ।

राहतकोषको खातामा पालिकाका कर्मचारीहरुले १ दिन र जनप्रतिनिधिहरुले १५ दिन बराबरको रकम जम्मा गर्ने निर्णय भएको छ । कोषमा झापाको विर्तामोड निवासी हाल युएन इराकमा कार्यरत निरोजकुमार श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी चौविसे स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मी तथा समाजसेवी केराबारी ८ निवासी गोविन्दवहादुर थापाले १० हजार रुपैयाँ सहयोग गर्ने बताउनुभएको छ ।

बुधबार, १९ चैत, २०७६, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर