निजीले वास्ता नगरेपछि सरकारीकै भर

विर्तामोड । निजी अस्पतालहरले विरामीलाई गेटबाटै छिर्न नदिएपछि झापामा ज्वरो आएका र रुघाखोकी लागेका विरामीहरु भद्रपुर स्थित मेची अञ्चल अस्पताल पुग्न बाध्य भइहेका छन् ।

मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत निजी अस्पताहरुले विरामी हेर्न मानेका छैनन् ।

अन्य समयमा सबैखाले उपचार आफ्नो अस्पतालमा हुने प्रचारबाजी गर्ने निजी अस्पतालहरुले अहिले करिब आफ्नो सटर नै बन्द गरेका छन् । झापाको कन्काईका दुर्गा चापागाईँले छोरा लक्ष्मीप्रसादलाई सामान्य ज्वरो आएर स्थानी कन्काई मेडिकल हलमा जाँदा आफ्नो ल्याबको स्टाफ विदामा रहेको भन्दै फर्काईदिए । प्रधान मेडिसिन सेन्टरमा अरु समयमा डाक्टर राखेर सबैखाले विरामीको उपचार हुने गरेकोमा सञ्चालक सुरेन्द्र प्रधानले चापागाईंको सामान्य परीक्षण पनि हुन नसक्ने भनेर फर्काईदिएका हुन् ।

निजी अस्पताल र क्लिनिकले अन्य समयमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्ने गरेकोम अहिले कुनै पनि सेवा दिएका छैनन् । जसले गर्दा सर्बसाधारण प्राथमिक उपचारबाटै वञ्चित बनेका छन् ।

निजी अस्पतालले विरामी नहेरेपछि सबैखाले विरामीहरु झापाको भद्रपुरस्थित मेची अस्पतालमा जान बाध्य छन् । पहिले सरकारी स्वास्थ्यसंस्था र अस्पतालमा राम्रो उपचार नहुने भन्दै निजी जाने गरेका सर्वसाधारण अहिले सरकारीमै जानुको विकल्प छैन । ग्रामिण क्षेत्रमा पनि स्वास्थ्य चौकीहरुले सेवा प्रदान गरिरहेका छन् ।

अहिले मेची अस्पतालको इमजेन्सी र फिभर क्लिनिकमा दैनिक ३० जना हाराहारी रुघा लागेका र ज्वरो आएका विरामी पुग्ने गरेका छन् । तर, सबै सामान्य अवस्थाका रहने गरेको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

मेची अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका ५ व्यक्तिमध्ये २ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । धरान स्वाब पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । कोरोना पुष्टि नभएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् । प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ ।

झापाको १५ स्थानीय तहमा कोरोना भाइरस रोकथामका लागि ३९५ शय्या क्षमताका २० वटा क्वारेन्टाइन चालू अवस्थामा छन् । नेपाली सेनाले बनाइरहेको १०० शय्याको क्वारेन्टाइन अन्तिम चरणमा पुगिसकेको छ । झापाका क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने अन्य होम क्वारेन्टाइनमा रहेका छन् ।

बुधबार, १९ चैत, २०७६, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर