विर्तामोड । झापाको मेचीनगर नगरपालिकामा विपन्न समुदायलाई भोकमरीबाट जोगाउन प्रमुख राजनीतिक दल, पत्रकार र व्यवसायी मिलेर फुड बैंक स्थापना गरेका छन् ।
विसं २०७२ सालको महाभूकम्पका बेला राहत प्रदान गर्न बनेको ‘मेची अभियान’ नामक संस्थामार्फत नै कोभिड–१९ को सङ्क्रमणका बेला फुड बैंक स्थापना गरिएको हो ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाको संयोजकत्वमा मेचीनगरका नेकपा, नेपाली काँग्रेस, राप्रपा र समाजवादी पार्टीका प्रमुखहरु र पत्रकारलाई अभियानले सदस्य बनाएको छ । अभियानले स्थापना गरेको फुड बैंकमा दाताहरुले दिएको खाद्यान्न र नगद जम्मा गरिन्छ ।
कोडिभ–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको म्याद ८ दिनका लागि थपेसँगै दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको हातमुख जोड्दै आएका अति विपन्न परिवारको बिचल्ली हुन नदिन स्थापना गरेको बैंकमा ९२ हजार ४९९ रुपैयाँ जम्मा भइसकेको छ । महामारीका बेला राज्यले मात्र सहयोग दिएर नपुग्ने भएकोले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर विपन्न समुदायलाई भोकमरीबाट जोगाउनुपर्ने ठहर गर्दै बैंक स्थापना गरिएको हो ।
सर्वदलीय अभियान बनाएर दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न व्यक्तिहरुलाई फुड बैंकमार्फत खाद्यान्न वितरण गर्न थालिसकिएको संयोजक डालमिया बताउनुभयो । फुडबैंकमा सहयोग गर्ने दाताको सङ्ख्या दिनदिनै बढिरहेको छ।
संयोजक डालमियाले सामाजिक सञ्जाल, युट्युब, इन्टरनेट, फोन तथा मेसेजमार्फत शुभेच्छुकहरुले सहयोग गर्ने वचन दिइरहेको बताउनुभयो । मेचीनगर नगरपालिकाको खाद्यान्न व्यवस्थापन समितिको कार्यदलसँगको सहकार्यमा विपन्न मजदुरका परिवारलाई राहत वितरण गरिने बताइएको छ ।