कृत्रिम अभाब र अन्य समस्याबारे अनुगमन गर्नआर्थिक मामिला मन्त्रीको नेतृत्वमा समिति गठन
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।
मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनुभएको हो ।
पछिल्लो समयमा भारत र अन्य मुलुकबाट धेरै मानिस आएकोले उनीहरुमा कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै मुख्यमन्त्री राईले त्यस्ता व्यक्तिको पहिचान गरी क्वारेन्टाइनमा राख्न निर्देशन दिनुभएको हो । विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्यांक संकलन गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीय तहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय तहले विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरु, अपाङ्गता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुको विवरण संकलन गरी राहतको प्रबन्ध गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय तहबाट राहत अपुग हुने अवस्थामा प्रदेश सरकारले व्यवस्था मिलाउने उहाँको भनाइ थियो ।
बैठकले कोरोना भइरसको विरुद्ध लड्न स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निर्माण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्याङ्कक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीय तहले तथ्याङ्कहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउने, स्थानीय पालिकाहरुसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।
लकडाउनको अवधिमा कृत्रिम अभाब हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यमा राज्यमन्त्रीहरु, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहनुभएको छ ।
कोरोना सम्बन्धि तत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वाउजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सुचना डेस्कमा र मोवाइल एप्लिकेशनमार्फत जानकारी दिनसमेत बैठकले सबैलाई अपिल गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिनुभयो ।