सोलुखुम्बु । विदेशबाट आएकाहरुको कारण नेपालमा कोरोनाको जोखिम रहेको देखिएपछि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले त्यस्ता व्यक्तिको खोजी गर्न पुरस्कार रकम घोषणा गरेको छ ।
विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसी घरमै बस्ने र जोखिम बढाउने गरेको देखिएकोले उनीहरुको पहिचान गर्न गाउँपालिकाले पुरस्कार घोषणा गरेको हो ।
गाउँपालिकाले टोलटोलमा माईकिङ गरी बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिन आग्रह गर्दै आएको छ । यस्तो जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गाउँपालिकाको छ । अहिले बैदेशिक रोजगारीबाट आएको पहिचान भएका ५ जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ ।
गाउँपालिकाले संभावित जोखिमलाई ध्यानमा राखेर प्रत्येक वडामा १५÷१५ शैय्यासहितको क्वारेन्टाइन र ३ स्थानमा ५ शैय्याको आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
गाउँपलिकाले अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुंगानाका अनुसार गाउँपालिकामा तीन थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् ।
कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सोलुखुम्बुमा ३४१ शैय्याको क्यारेन्टाइन र ४८ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् ।
भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पु¥याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, केरुङ्ग स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिनुभयो ।
एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा हालसम्म २ जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन । वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।
उनीहरुको हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ शैय्या क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात शय्याको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिइ र ३ थान गन फर फिवर रहेको छ ।
नगरपालिकाले सोेमबारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको प्रयोग गरि विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो ।
जिल्लाको नेचासल्यान गाउँपालिकाले १४ शैय्याको क्वारेन्टाइन र १३ शैय्याको आईसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नका लागि सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सो गाउँपालिका १० थान पिपिइ छ ।
जिल्लाको अतिविकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा ५ शैय्याको आइसोलेसन र २५ शैय्याको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । क्वारेन्टाइन र आइसोलेसन वार्डमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको छ । वैदेशीक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । गाउँपालिकामा पिपिइ र गन फर फिवर नभएको स्वास्थ्य संयोजक आचार्यको भनाई छ ।
सोताङ गाउँपालिकाले तीन शैय्याको क्वारेन्टाइन र चार शैय्याको आइसोलेसन वार्ड स्थापना गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीका लागि पिपिइ र गनफर फिवरसमेत नभएको गाउँपालिकाले वैदेशिक रोजगारीबाट आउनेको अवस्थासमेत पहिचान गरेको छैन ।
माप्यदूधकोशी गाउँपालिकाले पाँच शैय्याको क्वारेन्टाइन र ५ शैय्याको आईसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामाग्री र औषधि समेत छैन । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिनुभयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ शैय्याको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकासँग २५ थान पिपिइ, १० थान गन फर फिवर रहेको छ ।
पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परिक्षणका लागि उपकरण ल्याएको थियो । तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
लिखुपिके गाउँपालिकासँग पनि कुनै स्वास्थ्य उकरण छैन । गाउँपालिकाले २५ शैय्या क्षमताको क्वारेन्टाइन र ८ शैय्याको आईसोलेसन कक्ष तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो ।