कोरोना भाइरसबाट उच्च रूपमा संक्रमित युरोपेली मुलुक जर्मनीका एक मन्त्रीले नै आत्महत्या गरेका छन् ।
कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।
समाचार संस्थाहरूका अनुसार अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण चिन्तित बनेका थिए । कोरोना भाइरसका कारण सिर्जित संकटबीच आर्थिक सहयोगबारे जानकारी गराउन उनी सार्वजनिक रूपमा देखिने गरेकोमा शनिबार रेलको लिकमा आत्महत्या गरेका हुन् ।
उनले कोरोना भाइरसबाट आक्रान्त भएको अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहिलेदेखि नै गहिरो चिन्ता जाहेर गर्ने गरेको त्यहाँका स्टेट प्रिमियर भोल्कर बफेयरले जानकारी दिएको सन्चारमाध्यमहरुले जनाएका छन ।
मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गरेका थिएनन् ।
मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएको जर्मन दैनिक फ्र्याङकफर्टर अल्जिमाइनले उल्लेख गरेको छ । मन्त्री स्याफर जर्मन चान्सलर एन्जिला मर्केलको मध्य–दक्षिणपन्थी दल क्रिस्चियन डेमोक्र्याटिक पार्टीमा दुई दशकदेखि सक्रिय थिए । उनले १० वर्षयता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएको बताइएको छ ।
जर्मनीको आर्थिक राजधानी मानिएको फ्र्याङ्कफर्ट हेसे राज्यमा नै पर्छ । सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले सन् २०२३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा नगरेको स्थितिमा स्याफरलाई हेसे राज्यको भावी प्रधानमन्त्रीको रूपमा हेरिएको थियो ।
प्रधानमन्त्री भोल्कर बोफरले स्याफरको मृत्युलाई पत्याउनै नसकिने दुखद घटना भनेका छन् ।
https://www.dw.com/en/german-state-finance-minister-thomas-sch%C3%A4fer-found-dead/a-52948976