मुख्यमन्त्री शेरधन राईद्वारा निरीक्षण
विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र भइरहेको कोरोना परीक्षण काठमाडौं बाहिर बीपीमा सुरु भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना गरिएको ल्याबको आइतबार निरीक्षण गर्नुभएको छ । उहाँहरुले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गर्नुभयो । उहाँहहरुलाई प्रतिष्ठानमा कोरोनाका बिरामीहरुलाई गरिने उपचारबारे प्रतिष्ठानका कार्यबाहक उपकुलति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी दिनुभएको थियो ।
सरकारले धरान, पोखरा र नेपालगञ्जबाट पनि कोरोना परीक्षण गर्ने निर्णय गरेको छ। तर, धरानबाट सुरु भएको हो । प्रतिष्ठानको माइक्रोबायोलजी युनिटले प्रतिष्ठानकै आइसोलेसनमा भर्ना भएका तीन जना बिरामीको स्वाब संकलन गरेर परीक्षण थालेको छ ।
प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जिवकुमार शर्माका अनुसार दैनिक १२ जनाको स्वाब परीक्षण गर्नेगरी ल्याब स्थापना भएको भएको छ । ल्याबको क्षमता भने अधिकतम् उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
धरानमा प्रदेश १ र २ मा संकलन भएको स्वाबको परीक्षण गर्नेगरी ल्याब स्थापना भएको छ । मुख्यमन्त्री राईले परीक्षण सुरु भएपछि प्रदेश १ मा कोरोना परीक्षणमा सहज हुने बताउनुभयो ।
प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा परीक्षण सुरु भएको हो । प्रतिष्ठानमा रहेको प्रयोगशालामा परीक्षणमा भइरहेको र रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ । प्रतिष्ठानमा भएको पीसीआर मेसिन मा आरएनए एक्सट्रेक्सन आफैंले गनुपर्ने भएकाले केही बढी समय लाग्ने चिकित्सकले बताएका छन् ।
सुरूवातमा धरानमा परीक्षण भएको १० वटा नेगेटिभ र ५ वटा पोजेटिभ नमूनालाई क्रस चेक गर्नको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ। एउटा ल्याबले गरेको परीक्षण अर्को ल्याबसँग मिल्छ कि मिल्दैन भनेर क्रस परीक्षण गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ । पहिलो कोरोना पोजिटिभको केश अन्तर्गत माघ ९ गते नै पोजिटिभ देखिएको र हाल उनी पूर्ण स्वस्थ छन् । अन्य चा्र जना उपचारको क्रममा रहेका छन् ।