विराटनगर । कोरोना भाइरसको आशंका गरि प्रदेश १ का विभिन्न अस्पतालको आइसोलेसनमा रहेका २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत शंकास्पद ३० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो । त्यसमध्ये आइतबार दिउँसोसम्ममा २३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ ।
परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका मध्ये ७ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनमा बसेका मध्ये ८ जनालाई डिस्चार्ज गरिएको छ भने १५ जनाको आइसोलेसनमै उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
प्रदेश नं. १ मा हालसम्म ४ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये ८८ जना घर फर्किसकेका छन् । यस्तै होम क्वारेन्टाइनमा राखिएका ६ सय ९ जना रहेका छन् । प्रदेश सरकारले विभिन्न ३८ स्थानमा २ सय २७ वटा आइसोलेसन, ३० स्थानमा ३ सय ७८ वट आइसियु तयारी हालतमा राखेको जनाएको छ । प्रदेश सरकारले थप ८ सय बेड आइसोलेशन बनाउन विभिन्न ६ अस्पताललाई निर्देशन दिएको छ ।