राहत प्याकेज घोषणा गर्न माग

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दैनिक मजदुरी गरेर गुजारा चलाउने गरिब तथा निमुखा जनताको लागि तत्काल राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको छ ।

तीनै तहका सरकारले बैंक खाता नम्बर दिएर सहयोग गर्न जनतालाई अपिल गर्ने काम गलत भएको भन्दै काँग्रेस प्रदेश नं. १ संसदीय दलका सचेत केदार कार्कीले संकटको समयमा सरकारले चन्दा उठाउन बन्द गरेर जनताले तिरेको करबाटै राहत दिनुपर्ने माग गर्नुभएको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै कार्कीले कोरोनाको फैलन नदिन गरिएको लकडाउनका कारण विपन्न नागरिकको घरमा चुल्हो बल्न नसक्ने अवस्था आएकोले तत्काल राहत वितरण गर्र्नुपर्ने बताउनुभएको हो । प्रदेशका सबै पहाडी जिल्लामा राहत र आवश्यक सामाग्री लैजान प्रदेश सरकारको उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

पहाडी क्षेत्रछिटो चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तथा संक्रमणको आशंका भएका बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको प्रबन्ध गर्न कार्कीले आग्रह गर्नुभएको छ । तरार्इका जिल्लाहरुमा डेडीकेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने उहाँको भनाइ छ ।

सचेतक कार्कीले कोरोनाको जति धेरै परीक्षण गर्छौ उति नै धेरै जनतालाई बचाउन सकिने भएकोले संकटको समयमा अग्रभागमा खटिने स्वस्थ्यकर्मी र सुरक्षाकर्मीलाई अनिवार्य रुपमा पिपिई उपलब्ध गराउनसमेत माग गर्नुभएको छ । स्वास्थ्यकर्मीको मनोबल उठाउन नसकेमा कोरोना विरुद्ध लड्न नसकिने उहाँको भनाइ छ ।

विदेशबाट नेपाल फर्किएका सबैजनालाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गर्र्दै कार्कीले लकडाउनको पूर्ण पालनामा जोड दिनुभएको छ ।

प्रेस विज्ञप्ती

मिति २०७६ चैत १६, आइतबार विश्वसहित नेपाल पनि कोरोना संक्रमणका त्रासदीमा छ। हामी सबै संकटको घडीमा छौं। आफू, आफ्नो परिवार र समाजलाई बचाउनु नै अहिलेको हाम्रो संकल्प बनेको छ। मित्रराष्ट्र चीनबाट आयात गरिएको स्वास्थ्यसंग सम्बन्धित सामान र उपकरण आज आई पुग्दैछ।

संक्रमण फैलन नदिन र उपचार प्रबन्ध मिलाउन सर्वप्रथम प्रदेश १ सरकारले सबै पहाडी जिल्लाभर पठाउने प्रबन्ध गर्नुपर्छ। यसका लागि होलिकोप्टर नै उत्तम विकल्प हुन सक्छ। संकटको यो बेला स्थलमार्ग भन्दा पनि हवाई मार्गको प्रयोग सहज र छरितो हुन जान्छ। प्रदेश १ का तराईका जिल्लामा चारचक्के सवारी साधानबाट ढुवानी संभव र सहज छ। सर्वप्रथम मानिसहरुमा कारोना भए नभएको परीक्षणमा जोड दिउँ। यो कार्यमा सरकारलाई हाम्रो सकारात्मक सहयोग रहन्छ।

सबै जिल्लामा कम्तिमा एक एम्बुलेन्स कोभिड १९ का शंकास्पद बिरामीलाई अस्पतालसम्म पु¥याउनको लागि तयार गरौं। प्रदेश केन्द्रमा दसवटा एम्बुलेन्स तयारी अवस्थामा राखौं। जति धेरै परीक्षण गर्छौ उति नै धेरै जनतालाई बचाउन सकिन्छ। सबैभन्दा पहिले अग्रभागमा खटिने स्वस्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई उपलब्ध हुनुपर्छ नत्र उनीहरुमा ‘सुरक्षित छैनौं’ भन्ने भावले कार्यक्षेत्रमा खटिन मनोवैज्ञानिक त्रास उत्पन्न हुन्छ। बिहान काम गरेर बेलुकी छाक टार्ने परिवारलाई छिटोभन्दा छिटो स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा सम्बोधन गरौँ।

अहिले विश्व आक्रान्त भएको बेला हामी सबै नेपाली अछुतो छैनौं। राहतको कुरा गरौं। तीन तहकै सरकारले बैंक खाता नम्बर दिएर सहयोग गर्न समेत अपिल गरेका छन्। यसलाई तत्काल रोक्नुपर्छ बरु जनताले तिरेको करको सदुपयोग गर्दै राहत प्याकेज घोषणा गरिनु पर्छ। हामी अलि दिन भींडभाडको सामाजिक सम्बन्धबाट टाढा बसेर महामारी फैलिन नदिऔं।

विदेशमा रही नेपाल फर्कनु भएका महानुभावलाई आफैं सेल्फ क्वारेन्टाइनमा बस्न अथवा स्थानीय सरकारले निर्माण गरेको वा तोकिएको स्थानमा क्वारेन्टाइनमा बस्नु हुन पनि अपिल गर्दछु ।

जय नेपाल
केदार कार्की
प्रमुख सचेतक, नेपाली कांग्रेस प्रदेश नं १

आइतबार, १६ चैत, २०७६, बिहानको १०:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर