अस्ट्रेलियाका ६ जना नेपालीमा कोरोना संक्रमण

अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएको छ। जसमध्ये सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराउनु भयो ।

गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्। एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको गुरुङले बताउनु भयो ।

ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रिपोर्ट अझै आउन बाँकी छ ।

अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा नेपालबाट भर्खरै आएकी सालिबाट कोरोना सरेको जानकारि प्राप्त भएको छ । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् र यस्तो परिस्थितिमा एन आर एन ए विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताउनु भयो ।

यसैबीच एन आर एन ए अस्ट्रेलियाले सेल्फ आईसोलेसनमा रहेका र आफन्त नभएको विद्यार्थीहरुलाई आकास्मिक राहत स्वरुप अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरिरहेको छ ।

सिड्निमा करिब २८ जनालाई करिब ४० डलर बराबरको खाद्यान्न बितरण गरिसकिएको संयोजक गुरुङले बताउनु भयो ।

करिब २ हप्ता देखि एक महिना दिने राहतमा अर्को चरणमा सेनिटरी सामाग्री सहित बितरण गरिने गुरुङले बताउनु भयो । त्यसैगरी तास्मेनियामा पनि एकजनालागि ८ देखि ९ डलर सम्मको दुई हप्ता पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको एनआरएनए तास्मेनिया संयोजक सन्देश परियारले जानकारी गराउनु भयो ।

परियारका अनुसार तास्मेनिया भेटिएको कोरोना संक्रमीत ब्यक्ति पुर्ण स्वस्थ भइसकेका छन् । एनआरएनएले छनोटको लागि फारम भर्ने ब्यबस्था गरेको थियो ।

उक्त फाराम मार्फत आएको विवरण अनुसार एनएसडब्लु राज्यमा सबैभन्दा बढी १२१ जना,कुइन्सल्यान्डमा ९९ जना, भिक्टोरियामा ८० जना, साउथ अस्ट्रेलियामा २२ जना, तास्मेनियामा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ६ जना, नोर्डन टेरिटोरिमा ८ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरिमा २ जना गरि जम्मा ३४६ जना नेपाली सेल्फ आइसोलेशनमा रहेको र शनिबार साझ ६ बजेसम्म ४१३ जनाले फारम भरेको अध्यक्ष कंडेलले जानकारी गराउनु भयो ।

४१३ जनाले फारम भरे पनि भेरिफाई गर्न भने बाकी रहेको अध्यक्ष कंडेल जानकारी गराउनु भयो ।

– रातोपाटीबाट साभार

शनिबार, १५ चैत, २०७६, रातीको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर