विराटनगर । काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालमा मात्र परीक्षण हुँदै आएको कोरोना भाइरस अब सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाटै बीपीमा कोरोना परीक्षण सुरु हुने जानकारी दिएको भएपनि प्रतिष्ठानले आइतबारबाट परीक्षण सुरु हुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले शनिबार नियमित पत्रकार सम्मेलनमा धरानबाट परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएकोले शनिबारबाटै परीक्षण सुरु हुने बताउनुभएको थियो । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.संजिवकुमार शर्माले परीक्षणको तयारी पुरा भएको र आइतबारबाट नमुना परीक्षण सुरु हुने जानकारी दिनुभयो ।
प्रतिष्ठानमा प्रदेश १ र २ लाई लक्षित गरेर कोरोना भाइरसको आशंका गरिएका विरामीको स्वाब परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ । सुरूवातमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्नेगरी स्थापना भएको ल्याबको क्षमता अधिकतम् उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति प्रतिष्ठानमै रहेको छ । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ। केही परीक्षणहरू पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।
धरानबाटै कोरोनाको परीक्षण गर्न प्रदेश सरकारले पनि पहल गर्दैै आएको थियो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको पहलमा परीक्षणको लागि आवश्यक केही सामान भारतबाट ल्याइएको थियो । सरकारले परीक्षण किट पठाएकोले अब परीक्षण हुने भएको हो ।
प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमित परीक्षणका लागि सरकारले हेटौडा, पोखरा र नेपालगञ्जमा पनि ल्याबको व्यवस्था गर्न लागेको छ । त्यसको सम्भाव्यताका लागि मन्त्रालयको टोली ती स्थानतर्फ गएको बताइएको छ ।