विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेहरुको संख्या भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३ हजार १७७ जनाको मृत्यु भएको छ ।
शुक्रबारसम्म भाइरसका कारण २४ हजार ७३ जनाको मृत्यु भएकोमा शुक्रबार त्यो संख्या बढेर २७ हजार २ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट इटलीमा मात्र ९ सय १९ जनाले ज्यान गुमाएका छन् । यो इटलीमा एकै दिनमा ज्यान गुमाएको सबैभन्दा ठूलो संख्या हो । पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय ७३ जनाको मृत्यु भएको छ भने अमेरिकामा ३ सय १२ जनाको ज्यान गएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा फ्रान्समा २ सय ९९, बेलायतमा १ सय ८१ , इरानमा १ सय ४४ र नेदरल्याण्डमा १ सय १२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । स्पेनमा ५ हजार १ सय ३८ जनाको मृत्यु भइसकेको छ । चीनमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ भने इरानमा २ हजार ३७८ जनाको ज्यान गएको छ । फ्रान्समा १ हजार ९ सय ९५ र अमेरिकामा १ हजार ६०७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमित एक लाख नाघे
कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको अमेरिकामा तिब्रगतिले भाइरस फैलिएको छ । बुलेट ट्रेनको गतिमा भाइरस संक्रमण फैलिनसक्ने विज्ञहरुको चेतावनी अनुरुप नै अमेरिकामा संक्रमण बढेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा १७ हजार २९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार ४६४ पुगेको छ । संक्रमित मध्ये २ हजार ४७१ जना उपचारपछि घर फर्किएका छन् भने ९८ हजार ३८६ जना अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
इटलीमा भाइरसबाट ८६ हजार ४९८ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९०९ नयाँ संक्रमित भेटिएका छन् । स्पेनमा ७ हजार ९३३ नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमित हुनेको संख्या ६५ हजार ७१९ पुगेको छ ।