प्रदेश १ः आइसोलेसनमा १५ र क्वारेन्टाइनमा ६९७ जना

२० जनाको परीक्षणमा नेगेटिभ नतिजा/कोरोना रोकथाममा तीन करोड निकासा

विराटनगर । कोरोना भाईरसको आशंका गरि प्रदेश १ का विभिन्न अस्पतालको आइसोलेसनमा रहेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत शंकास्पद २५ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएकोमा २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ ।

परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ भने १५ जनाको आइसोलेसनमै उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल, गाईघाटवाट १, कोशी अस्पताल विराटनगरबाट ६, र मेची अस्पताल भद्रपुरबाट २ गरि २५ जनाको नमूना संकलन गरी टेकुमा परीक्षणको लागि पठाइएको थियो । उनीहरुमध्ये २० जनाको नतिजा नेगेटिभ आएको र ५ जनाको नतिजा आउने क्रममा रहेको उहाँले बताउनुभयो ।
प्रदेश १ मा कोरोनाको जोखिममा रहेका शंकास्पद व्यक्तिहरुलाई राख्न १०९ स्थानमा १८४८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा अहिले २८७ पुरुष र ४१ महिला गरी ३२८ जनालाई राखिएको छ । यस्तै २२ महिला र ५६ पुरुष गरी ७८ जनालाई होम क्वारेन्टाइनमा बस्नेगरी पठाएको छ । प्रदेशमा २८७ पुरुष र ८२ महिला गरी ३६९ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेशका ३९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न २५६ बेडको आइसोलेसन तयार गरिएको छ । प्रदेश सरकारले थप ८ सय बेड आइसोलेशन बनाउन विभिन्न ६ अस्पताललाई निर्देशन दिएको छ ।

कोरोना रोकथाममा तीन करोड निकासा
यसैबीच कोरोना भाईरस रोकथामको तयारीका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ३ करोड रुपैयाँ बजेट निकासा गरेको छ । स्थानीय र प्रदेश सरकारले सञ्चालन गरेको हेल्थ डेस्सका सञ्चालन लगायत अन्य प्रयोजनका लागि बजेट निकासा गरेको हो ।

मन्त्रालय अन्र्तगतका कार्यालय र १४ वटा विभिन्न जिल्लाका स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालन लगायत कोरानासंग सम्बन्धित कार्यका लागि औषधी तथा औषधीजन्य सामाग्री खरीद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रलाई ५० लाख रुपैयाँ निकासा भएको छ । यस्तै प्रदेश अन्तर्गतका १३ वटा अस्पतालहरुलाई ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार, विभिन्न १४ वटा स्थानीय तहलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरुलाई संक्रमण हुनबाट बच्नका लागि पीपीई २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब ७ हजार २ सय जोडी, हेण्ड सेनिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराएको पनि जनाएको छ ।

शुक्रबार, १४ चैत, २०७६, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर