प्रदेश १ मा सर्वपक्षीय बैठक

आवश्यकता अनुसार सरकारले अस्पताल प्रयोग गरोस् –निजी अस्पताल सञ्चालक

 

विराटनगर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लगायतका विषयमा प्रदेश १ सरकारले सर्वपक्षीय सुझाव लिएको छ । त्यस क्रममा निजी अस्पतालका सञ्चालकहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्ना अस्पतालहरु सरकारले जुनसुकै समयमा पनि प्रयोग गर्न सक्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाण्डौका निजी अस्पतालहरुले उपचार गर्न नसक्ने जनाइरहेको बेला प्रदेश १ का निजी अस्पताल सञ्चालकहरुले भने आफ्ना अस्पतालहरु सरकारले आवश्यक निर्णय गरेर आवश्यकता अनुसार सञ्चालन गर्न सक्ने सुझाव दिएका हुन् । उनीहरुले त्यसका लागि अस्पताल सञ्चालकहरु सहयोग गर्न सदैव तयार रहेको पनि बताएका छन् ।

शुक्रबार अपरान्ह मुख्यमन्त्री शेरधन राईको आव्हानमा भएको सर्वपक्षीय छलफलमा आपुर्ति व्यवस्था सहज बनाउने तथा भाइरस रोकथाम र नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने उपायहरुको बारेमा पनि छलफल भएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारको आव्हानमा जाारी लकडाउनका क्रममा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिकहरुलाई कसरी राहत उपलव्ध गराउन सकिन्छ भन्ने विषयमा पनि मुख्यमन्त्री राईले सबैबाट सुझाव लिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री राईले अहिलेसम्म भएका कामहरुको बारेमा जानकारी पनि गराउनुभएको थियो । उहाँले आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सबै पक्षका सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको थियो ।

सबैपक्षीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संकटको समयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

छलफलमा नेपाली काग्रेंसका केन्द्रीय सदस्य डा. शेखर कोइराल, प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, नेकपाका केन्द्रीय सदस्यहरु, समाजवादी पार्टीका प्रदेशसभाका दलका नेता जयराम यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

छलफलमा उद्योगी, व्यवसायी, निजी अस्पतालका सञ्चालकहरु आदिको पनि सहभागिता थियो ।

शुक्रबार, १४ चैत, २०७६, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर