कोरोनाबाट २४ हजारको मृत्यु, सबैभन्दा धेरै संक्रमित अमेरिकामा

संसारभरी ५ लाख ३२ हजार ६७० सङ्क्रमित/अमेरिकामा ८५ हजार ६१२ सङक्रमित

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वभर २४ हजार ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्यामा अमेरिकाले सबैलाई उछिनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरी ५ लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित हुँदा अमेरिकामा ८५ हजार ६१२ कोरोना सङक्रमित छन् ।

अमेरिकामा कोभिड १९ संक्रमितका यो सङ्ख्या चीनको भन्दा बढी हो । चीनमा शुक्रबारसम्म ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार ५८९ जना सङक्रमित रहेका छन् ।

सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा यस रोगको सङ्क्रमणका कारण ८ हजार २१५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० हजार ६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा ५७ हजार ७८६ जना सङक्रमित हुँदा ४ हजार ३६५ जनाको मृत्यु भएको छ भनेृ ७ हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । चीनमा ३ हजार २९२ जनाको मृत्यु हुँदा ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार २३४ जनाको मृत्यु भएको छ । त्यहाँ २९ हजार ४०६ जना सङक्रमित रहेको र १० हजार ४४७ जना उपचारपछि घर फर्किएको बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ भने हाल ४३ हजार ९३८ जना सङक्रमित रहेका छन् । ५ हजार ६७३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३०० जनाको मृत्यु भएको छ । हाल ८५ हजार ५९४ जना सङक्रमित भने १ हजार ८६८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ६९६ जनाको मृत्यु भएको छ । प्रान्समा २९ हजार १५५ सङ्क्रमित रहेका छन् भने चार हजार ९४८ उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३९ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ३३२ सङ्क्रमित रहेकोमा ४ हजार ५५८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १९२, बेलायतमा ५७८, नेडरल्याण्डमा ४३४, अष्ट्रियामा ४९, बेल्जियममा २२० जनाको मृत्यु भएको छ । यसैगरी नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४, अष्ट्रेलियामा १३, ब्राजिलमा ७७, स्वेडेनमा ७७, पोर्चुगलमा ६०, क्यानाडामा ३९ , डेनमार्कमा ४१, मलेसियामा २४, आयरल्याण्डमा १९, पोल्याण्डमा १६ , ग्रीसमा २७, इन्डोनेसियामा ७८, फिलिपिन्समा ४५, हङकङमा ४, इराकमा ३६, अल्जेरियामा २५ , भारतमा २०, पाकिस्तानमा ९, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ८, इजिप्टमा २४, पानामामा ९, अर्जेन्टिनामा १२, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ११, अफगानिस्तानमा ४ , नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमित मात्र भएको तथा अहिलेसम्म कसैको मृत्यु नभएको देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी रहेका छन् । एजेन्सी

शुक्रबार, १४ चैत, २०७६, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर