आइसोलेशनमा राखेर परीक्षण गर्दा अहिलेसम्म तीन जनाबाहेकमा कोरोनाको संक्रमण देखिएको छैन

नेपालमा थप ७१ को परीक्षण नेगेटिभ

आइसोलेशनमा राखेर परीक्षण गर्दा अहिलेसम्म तीन जनाबाहेकमा कोरोनाको संक्रमण देखिएको छैन

विराटनगर । कोरोना संक्रमणको आशंकमा विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएका थप ७१ जनाको नमूना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विववरण अनुसार अहिलेसम्म कूल ७५८ जनामा कोभिड १९ को नमूना परीक्षण गरिएकोमा ३ जनाको मात्र पोजेटिभ देखिएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ७१ जनाको थप नमूना परीक्षणको नतिजा दिएको थियो । उनीहरु कोरोनाको आशंका देशभरका विभिन्न अस्पतालमा उपचारको लागि आइसोलेशनमा राखिएका व्यक्तिहरु भएको बताइएको छ ।

अहिलेसम्म परीक्षण गरिएका ७५८ मध्ये ७५५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। पोजेटिभ देखिएका एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ । शुरूमा कोरोना भाइरस संक्रमण देखिएका चीनको वुहानबाट फर्किएका एक विद्यार्थी हाल निको भइसकेका छन्।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थी र ६ चैतमा एयर अरेवियाको जहाजमार्फत् यूएईको सारजाहबाट आएका धादिङका ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ ।

उनीहरू सँगै जहाजमा आएका यात्रु तथा तीनका परिवारको पहिचान गरी देशभर स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

शुक्रबार, १४ चैत, २०७६, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर