विराटनगर । चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस डिजिज (कोभिड–१९)को इपिसेन्टर चीनबाट अमेरिका सरेको छ । कोरोनाबाट संक्रमित हुने बिरामीको संख्याका आधारमा अमेरिका नयाँ इपिसेन्टको रुपमा देखापरेको हो ।
यतिबेला कोरोना प्रभावित विश्वका १९९ मुलुक मध्ये अमेरिकामा मात्र ८५ हजार ५९४ जना पुगेका छन् । जबकी लामो समय कोरोनाको इपिसेन्टर बनेको चीनमा ८१ हजार ३ सय ४० जना संक्रमित भएका छन् ।
चीनका संक्रमित मध्ये ७४ हजार ५८८ जना उपचारपछि घर फर्किएका छन् भने अमेरिकामा उपचारपछि घर फर्किनेको संख्या १ हजार ८६८ मात्र छ । यतिबेला कोरोना संक्रमणबाट गुज्रिरहेको संख्या हेर्ने हो भने अमेरिकामा ८२ हजार ४२६ जना छन् भने चीनमा ३ हजार ४६० जना मात्र छन् । इटालीमा ८० हजार ५८९ जनामा संक्रमण फैलिएकोमा ६२ हजार १३ जना अहिले पनि संक्रमणबाट गुज्रिरहेका छन् । यो विश्वको दोश्रो ठूलो संख्या हो । इटलीपछि संक्रमणबाट गुज्रिने राष्ट्रमा स्पेन तेस्रो नम्बरमा रहेको छ ।
कोरोना भाइरसका कारण विश्वमा २४ हजार ८७ जनाले ज्यान गुमाइसकेका छन् । यस रोगबाट ५ लाख ३२ हजार २२४ जना संक्रमित भएकामा उपचारपछि ठिक भएका र मृत्यु भएकाको संख्या घटाउँदा ३ लाख ८३ हजार ८११ जना संक्रमित विद्यमान छन् । यो संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।
विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै इटलीका नागरिकहरु छन् । जहाँ ८ हजार २१५ जनाको निधन भइसकेको छ । स्पेनमा ४ हजार ३६५ जना, चीनमा ३ हजार २९२ जना, इरानमा २ हजार २३४ जना, फ्रान्समा १ हजार ६९६ जना र अमेरिकामा १ हजार ३ सय जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोनाका कारण सबै भन्दा धेरै व्यक्तिको ज्यान गुमाउने राष्ट्रहरुमा अमेरिका छैटौं नम्बरमा छ । संक्रमित हुनेको दरलाई हेर्ने हो भने अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या बढ्ने अनुमान गर्न सकिन्छ । संक्रमण रोक्नका लागि समयमै आवश्यक तयारी नगरेका कारण अमेरिकामा तिब्रगतिमा संक्रमण फैलिएको हो । बिहीबार मात्र अमेरिकामा १७ हजार ५ सय भन्दा बढी नयाँ संक्रमितहरु फेला परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने धेरै व्यक्तिमा परीक्षण गरेका कारण बिरामीको संख्या धेरै भेटिएको दावी गर्दै आउनुभएको छ ।
अमेरिका भित्रको अवस्था
अमेरिकामा ८५ हजार ५९४ जनामा भाइरस संक्रमण भएको छ । संक्रमित मध्ये १ हजार ३ सय जनाको मृत्यु भएको छ । उपचारपछि १ हजार ८६८ जना घर फर्किएका छन् । ८२ हजार ४२६ जना संक्रमित अहिले पनि उपचारमा छन् ।
संक्रमणबाट न्युयोर्क सबैभन्दा ग्रसित छ । न्युयोर्कमा मात्र ३८ हजार ९७७ जना संक्रमित भएका छन् र ४ सय ६६ जनाले ज्यान गुमाएका छन् । अहिले पनि न्युयोर्कमा ३६ हजार ९९४ जना संक्रमित उपचारमा छन् ।
संक्रमणबाट प्रभावित अमेरिकाको अर्को राज्य न्यु जर्सरी हो । जहाँ ८ हजार ८७६ जनामा संक्रमण फैलिएको छ र ८१ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये अहिले पनि ६ हजार ७९५ जना उपचारमा छन् ।
तेस्रो नम्बरमा क्यालिफोर्निया राज्य पर्छ । क्यालिफोर्नियामा ४ हजार ४४ जनामा स.क्रमण देखिएको छ र ८३ जनाले ज्यान गुमाएका छन् । ३ हजार ९४९ जना संक्रमित उपचारमा छन् । वासिंटन संक्रमित संख्याको आधारमा चौथो नम्बरमा छ । वासिंटनमा ३ हजार २०७ जना संक्रमित भएका छन् भने १ सय ४७ जनाको मृत्यु भएको छ । यस्तै मिचिगनमा २ हजार ८ सय ५६ जना स.क्रमित छन् ६० जनाले ज्यान गुमाएका छन् । इलिनोइज राज्यमा २५ सय ३८ संक्रमित छन् र त्यहाँ २६ जनाको ज्यान गएको छ । यसरी अमेरिकाको १६ वटा राज्य जहाँ एक हजार भन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु छन् । अमेरिकाको सबै राज्यमा भाइरसका संक्रमितहरु छन् ।