विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पताल भर्ना गरिएको छ । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्रीलाई भर्ना गरिएको हो ।
शरीरमा केही असहजता भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको र उहाँको मुटुको चालमा एकरुपता नदेखिने बाहेक अन्य अवस्था सामान्य रहेको बताइएको छ । बिहानसम्म भने मुटुको चाल पनि सामान्य भइसकेको बताइएको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि छ महिनासम्म आराम गर्न चिकित्सकहरुले सुझाव दिएपनि प्रधानमन्त्रीले त्यसलाई अवज्ञा गर्नुभएको थियो । उहाँले यस बिचमा पनि निकै धपेडी गर्नुभएको थियो । जसले गर्दा प्रधानमन्त्रीमा केही समस्या देखिएको अनुमान गरिएको छ ।
दुई दिन अघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली झण्डै ४ घण्टा बस्नुभएको थियो । प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।