कोरोना नियन्त्रणमा चीनबाट सिक्नुपर्ने विषय
डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस विश्वभर आक्रामक रुपमा विस्तार भइरहँदा चीनमा भने नियन्त्रणको क्रममा छ । अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा बिजयनजिक पुगिरहेको बेला युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यो विस्तारित भएको छ ।
कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै चीनमा ८१ हजार २८५ संक्रमित भएका छन् । तर, ३ हजार २८७ जनाको निधन हुँदा उसले ७४ हजार ५१ जनालाई उपचारपछि निको बनाएर घर फर्काएको छ । जबकी इटालीमा ७४ हजार ३८६ जना संक्रमिति हुँदा ७ हजार ५०३ जनाको मृत्यु भएको छ भने ९ हजार ३६२ जना मात्र उपचारपछि ठिक भएका छन् । यस्तै अमेरिकामा ६८ हजार ४२१ जना संक्रमित हुँदा १ हजार ३२ को निधन भएको छ भने उपचारपछि घर फर्कने ३९४ जना मात्र छन् । यस्तै स्पेनमा ४९ हजार ५१५ जना संक्रमित भएकोमा ३ हजार ६४७ को मृत्यु भएको छ भने ५ हजार ३६७ उपचारपछि घर फर्किएका छन् भने बेल्जियममा ४ हजार ९३७ जना संक्रमित हुँदा १७८ जनाको मृत्यु भएको छ भने ५४७ जना उपचारपछि घर फर्किएका छन् ।
यसले आफ्नो पखेटा फिजाइसकेको छ । युरोपका इटाली, स्पेन, फ्रान्स, बेलायत, नेदरल्यान्ड, जर्मनीजस्ता मुलुक कोरोनाले आक्रान्त छन् । अमेरिका, इरान पनि भयानक संकट व्यहोरिरहेका छन् ।
कोरोना भाइरसको पहिलो संक्रमण देखिएको चीनको वुहान अहिले शान्त छ । बजार खुल्न थालेको छ । सार्वजनिक बस र रेल चल्न थालेका छन् । केही साताअघिसम्म सञ्चारमाध्यम दिनहुँ वुहानका मृतकको संख्या अपडेट गराउन व्यस्त थिए ।
एक करोड बढि मानिसको बसोवास रहेको वुहानमा गत डिसेम्बरको अन्त्यतिर कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानमा दैनिक हजारौँको संख्यामा नयाँ मान्छेमा भाइरसको संक्रमण देखिन थाल्यो । ९ जनवरीमा संक्रमणका कारण पहिलो मृत्यु खेपेको वुहानमा चीनले २३ जनवरीमा लकडाउन गर्यो ।
सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगाएपछि भाइरसको संक्रमण दर नियन्त्रणमा प्रभावकारी बन्यो । लकडाउनका वेला चिनियाँ नागरिकले पूर्ण रूपमा सरकारको निर्देशन पालना गरे । सडक पुरै सुनसान बन्यो ।
नियम उल्लंघन गरेर पूर्ववत् जीवन जिउने कोसिस चिनियाले गरेनन्, बरु, सरकारलाई सघाए । चीनले वुहानसहित हुबेई प्रान्तका साना–ठूला गरी १५ वटा सहर लकडाउन गरेको थियो । सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखियो ।
हुबेई प्रान्तमा यात्रा गरेका वा त्यहाँका मान्छेसँग सम्पर्क भएका सबै नागरिक क्वारेन्टाइनमा बसे । एक करोड १० लाखभन्दा जनसंख्या भएको सहरलाई लकडाउन र त्यसको कार्यान्वयनले ठूलो क्षतिबाट जोगायो ।
आगामी ८ अप्रिलबाट चीनले दुई महिना लामो लकडाउन अन्त्यको घोषणा गर्दैछ । यसबीच ३२ सय ८१ चिनियाँले ज्यान गुमाएका छन् । तर, त्यो लकडाउन नहुँदो हो त, यो आँकडा अकल्पनीय बन्नसक्थ्यो ।
चीनको अभूतपूर्व बिजय
– २०१९ को डिसेम्बर अन्त्यतिर पहिलो संक्रमित फेला
– ९ जनवरी २०२० मा पहिलो मृत्यु
– २२ जनवरीमा एकैदिन ५५४ संक्रमित फेला
– २३ जनवरीमा डकडाउनको घोषणा
– १२ फेब्रुअरीमा एकै दिन १४०१२ संक्रमित, १४६ मृत्यु
– १ मार्च २०२ संक्रमित, ४२ मृत्यु
– २४ मार्च ४७ संक्रमण ४ मृत्यु
– अप्रिलबाट लकडाउन खुलाइँदै
एजेन्सीको सहयोगमा