सिजनल भाइरल एक सिजनमा दोहोरिदैन भन्ने गरिन्छ । कतिपय भाइरसका कारण हुने रोगहरु जीवनमा एकपटक मात्र देखा पर्छ । भाइरस निर्जीव हुन्छ । न्यूक्लिक एसिड र प्रोटिनबाट तयार भएको भाइरस स्वयंमा कोषरहित हुन्छ । यसमा हरेक कोषिय जीवहरुलाई संक्रमण गर्ने क्षमता राख्दछ । अहिले संसारभर कोरोना भाइरस डिजिज महामारीको रूपमा फैलिरहेको छ । एक पटक संक्रमण भएपछि यो संक्रमण दोहोरिने सम्भवना छ कि छैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । यद्यपी सबै तथ्यहरु पत्ता लागिसकेको छैन ।
दोहोरिन सक्छ कोरोना
केही बिरामी कोभिड–१९ बाट निको भए । निको भएकाहरुमा केही बिरामीमा फेरी पनि संक्रमण भएको पाइएको छ । सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ । तर यो भाइरसमा के फरक छ ?
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने । ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो । जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए । उनले सार्वजनिक यातायात पनि प्रयोग गरे । उनी केही दिनपछि पुनः बिरामी भए र उनलाई ज्वरो आयो । ती पुरुष अस्पताल फर्किए। त्यहाँ उनलाई फेरि उक्त भाइरसको सङ्क्रमण भएको पाइयो । उनको जस्तो घटना अरूमा पनि भएको पाइएको छ । तर त्यसरी फेरीपनि संक्रमित हुनेको संख्या न्यून छ ।
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन् ः कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोभिड–१९ भएको पाइएको छ । उनले भने यसलाई पुनः संक्रमण भएको नभई पुरानो भाइरस फेरी बल्झिएको मात्र भएको बताउने गरेका छन् । ‘मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ,’ उनले भने । उनी भन्छन् छन् ‘जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छ ।’
अहिलेसम्मको अध्ययनहरुबाट कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहने देखिएको छ ।
विज्ञहरूका अनुसार करिब १४ प्रतिशत मानिसमा कोरोनाभाइरस सङ्क्रमण दोहोरिएको पाइएको छ । कोभिड–१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुनः सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ ।
भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने हामीलाई थाहा छ ।
दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ । तर कतिपय स्वास्थ्य अधिकारीहरूले भने निश्चित उमेरका मानिसहरूलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुनः दिनु राम्रो हुन्छ । अन्य कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन्। त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ । अनि कतिपय यस्ता खोप पनि छन् – उदाहरणका लागि इन्फ्ल्युएन्जाको वा साधारण रुघाको खोप जुन हरेक वर्ष दिनुपर्छ किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ ।
अध्ययन हुँनै बाँकी
कोभिड–१९ नयाँ भाइरस भएकाले यसको व्यवहार बारे वैज्ञानिकहरूले धेरै कुरा बुझ्न बाँकी छ । त्यसपछि मात्रै किन छिटो पुनः सङ्क्रमण भएको भन्ने कुरा पत्ता लागन सक्छ । मड्रिडस्थित कार्लोस तृतीय स्वास्थ्य प्रतिष्ठानका अनुसन्धाता इसिडोरो मार्टिनेजले कोरोनाभाइरसको पुनः सङ्क्रमण हुन सक्ने भए पनि चाँडो हुनु अनौठो भएको बताएका छन् ।
यदि लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्को महामारीमा फेरि सङ्क्रमित भइन्छ । त्यो सामान्य हो, मार्टिनेजले बीबीसीसँगको कुराकानीमा भनेका छन् । तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट सङ्क्रमित भइहाल्नु भनेको अनौठो हो । अहिलेसम्म हामीले बुझेअनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन, उनले भने ।
इन्वानेस पनि भाइरस पुनः संक्रमण भएको नभई बाँकी रहेको भाइरस फेरी बल्झिएको हुन सक्ने बताउँछन् । ‘सम्भवतः के भइरहेको हुन सक्छ भने जो व्यक्ति कोभिड–१९ बाट निको भएका छन् तिनमा फेरि बाँकी रहेका भाइरसको अस्थायी वृद्धि भएको छ ।’ तर दुवै अनुसन्धानकर्ताहरूले कोभिड–१९ बारे जान्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले ‘यो ९कोभिड–१९ नयाँ भाइरस हो जसका बारे हामी हरेक दिन नयाँ कुरा थाहा पाइरहेका छौँ’ भनेको छ । उसले अहिले नै भाइरसको सबै व्यवहार बारेमा बताउन नसकिने स्पष्ट गरेको छ ।
स्रोत : एजेन्सीहरु