सुरक्षा उपकरणविना काम गर्नुपरेको डाक्टरको गुनासो

विराटनगर । कोरोनाको जोखिमबाट बच्न उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सरकारले पर्याप्त सुरक्षा सामाग्री उपलब्ध नगराएको भन्दै विराटनगरस्थित कोशी अस्पतालका चिकित्सकहरुले उपचार प्रदान गर्न नसक्ने बताएका छन् ।

कोरोनाको जोखिम रहेका बिरामीलाई उपचार गर्न आइसोलेशन वार्ड स्थापना गरिएको अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले ज्यान जोखिममा पर्ने गरी सेवा प्रदान गर्न नसक्ने बताएका हुन् ।

अस्पतालका चिकित्सक र कर्मचारीहरुले बुधबार बिहानैदेखि नै सेवाप्रबाह अबरुद्ध गर्दै कोरोनाको उपचारको लागि आवश्यक उपकरण उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले बिरामीहरुको उपचारका निम्ति स्वयंम सुरक्षित हुनुपर्ने भन्दै अस्पतालसँग पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट (पिपिए) लगायतका सुरक्षाका सामाग्रीहरुको माग गरेका हुन् ।

अस्पतालका चिकित्सक डा.सुरेश रेग्मीले अस्पतालमा आधारभुत सुरक्षाका सामाग्रीको नै अभाव भएको बताउनुभयो । स्वयं स्ुरक्षित भए मात्रै अरुको ज्यान जोगाउन सकिने भन्दै उहाँले आवश्यक प्रवन्ध सरकारले गर्नुपर्ने बताउनुभयो ।

अस्पतालकी स्टाफ नर्स हिमकला भट्टराईले अस्पतालका तर्फबाट एउटा मास्क पनि उपलब्ध नभएको बताउँदै तीन महिनादेखिको तलबसमेत नपाएको गुनासो गर्नुभयो । चिकित्सकहरुले बिहान अस्पताल प्रशासनलाई दबाब दिन केही समय विरामीको चेकजाँच नै रोकेका थिए ।

अस्पतालमा गर्भवती भई भर्ना भएकी विराटनगर–४ ईकराही निवासी लक्ष्मी गिरी, जहदा गाउँपालिका लक्ष्मीनिया निवासी सङगीता देवी महत्तो र मोरङ्गको रञ्जनी निवासी अस्मिता मगरका अभिभावकहरुले पनि चिकित्सकहरुको आन्दोलनले बिरामीको उपचार प्रभावित भएको बताएका थिए । चिकित्सकले आवश्यक उपकरण प्राप्त नभएसम्म उपचारमा खटिन नसक्ने बताएका थिए ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको सदुपयोगबाट चिकित्सक तथा कर्मचारीहरुलाई सुरक्षाका सामाग्रीहरु प्रदान गर्ने बताउनुभयो । मिश्रासँगको छलफलपछि मात्र चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।

कोरोना भाईरसको सङक्रमणबाट विश्व नै आक्रान्त बनेको बेला चिकित्सकहरु जोखिमको अग्रपंक्तिमा रहेर बिरामीको उपचार गर्न खटिनुपर्छ । उनीहरुको सुरक्षाको बिषयमा ध्यान दिनु अस्पताल प्रशासनको प्रमुख कर्तव्य हो ।

बुधबार, १२ चैत, २०७६, दिउँसोको ०३:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर