विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुनसक्ने चेतावनी दिएको छ ।
जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताउनुभयो ।
विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशत अमेरिकाकै छन् ।
के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भन्नुभयो, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ । त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।”
अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकारेका छन् । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भनेका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले मे महिनाको मध्यसम्ममा अमेरिका र भारतमा करिब २० लाख संक्रमित हुने खतरा औल्याएका छन् । यही कारण पनि भारत सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सबै हवाई तथा रेलसेवा, व्यवसया र स्कुलहरु बन्द गरी २१ दिने लकडाउन गरेको छ । एजेन्सी