चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस नदेखिएको पुष्टि भएको छ ।
वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु पछि कोरोनाकै कारण हो कि भन्ने आशंका बढेको थियो । उनको स्वाब परीक्षणका लागि १० गते नै काठमाडौं पठाइएको थियो । मंगलबार साँझ उनको रिपोर्ट आएको छ ।
भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।
लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।
त्यही दिन दिउँसोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको उनको उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे निधन भएको थियो ।