विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका मुख्य ५ वटा नाकाबाहेकका साना नाका बन्द गर्ने निर्णय गरेको छ ।
मोरङकै साना नाकाहरुमा हेल्पडेस्कसमेत नरहेको र निर्वाध रुपमा आवतजावत चलिरहेको समाचार हाम्रोमत दैनिकले प्रकाशन गरेपछि प्रदेश सरकारको कोरोना नियन्त्रण निर्देशक समितिले आइतबार यस्तो निर्णय गरेको हो ।
यसअघि काँकडभिट्टा र विराटनगर रानीबाहेकका नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको प्रदेश सरकारले मुख्य नाका बाहेकका साना नाका बन्द गर्ने निर्णय गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरुमा आवतजावत रोक्न सर्कुलर जारी गरेको हो । विराटनगरको रानी, झापाको काँकडभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीको भाण्टाबारीबाहेकका साना नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय छ । ती नाकामा पनि कडा चेकजाँच गरी तेस्रो मुलुकका र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न रोक लगाइने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले स्वास्थ्य र सुरक्षालगायतका अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न र हाटबजारमा नजान पनि अनुरोध गरेको छ । कोरोनाको जोखिमबाट बच्न आवश्यक मेडिकल सामाग्री खरिदको लागि संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने प्रदेश सरकारले जनाएको छ ।
यसैबीच प्रदेश १ सरकारले कोरोना भाइरसको संक्रमणबारे आफूलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सबै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोना सम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीओसी) मा ०२१–४७०५०० नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको हो ।
फोन आइतबार बेलुकादेखि सञ्चालनमा आइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिनुभयो । उक्त नम्बर २४ घण्टा चल्नेछ ।