सबै सीमानाका बन्द गर्ने सरकारको निर्णय

विराटनगर । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

नागरिक तहबाट सीमानाका बन्द गर्नुपर्ने आवाज उठेपनि सरकारले भारतसँग परामर्श भइहरेको भन्दै त्यसबारे निर्णय गर्न सकेको थिएन । आन्तरिक यातायात बन्द गर्ने निर्णय गरेको सरकारले खुल्ला सीमा बन्द नगर्दा जोखिम बढ्दै गएको थियो ।

भारतमा कोरोनाको कारण ७ जनाको मृत्यु भइसकेको तथा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र विहारमा पनि कोरोना देखिएकोले सीमा बन्द हुनुपर्ने आवाज उठिरहेको थियो । सोमबार विहान १० बजेबाट एक साताका लागि सबै नाका बन्द गर्ने निर्णय भएको बताइएको छ ।

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

आइतबार, ०९ चैत, २०७६, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर