विराटनगर, ८ चैत । कोरोना भाइरस संक्रमणबाट सुरक्षित गर्न विराटनगर महानगरपालिकाले साप्ताहिक हाटबजार नलगाउन आग्रह गरेपछि शनिबार लाग्दै आएको शनिहाट आज लागेन ।
विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक हाटबजार बिहान लागाउने तयारी भएपनि महानगरको आग्रह पछि उठेको छ । महानगरले हाटबजार लगाउन नदिने औपचारिक निर्णय नगरेपछि धेरै मानिसहरु भेला हुने र भिड जम्मा हुने स्थलहरु बन्द गर्ने निजी अस्पतालका सञ्चालकहरुको बैठकमा जानकारी गराएको थियो ।
यसैगरी हरेक शनिबार विराटनगरको बुधहाट चोकमा लाग्ने लत्ताकपडाको बजार पनि उठाइएको छ । बिहानैबाट लत्ताकपडाको सस्तो बजारमा भिड लागेपछि महानगरले बजार बन्द गर्न भनेको थियो । महानगरको आग्रह अनुसार खुद्रा व्यापारीहरुले पसल बन्द गरेका छन् । उनीहरु बिहान १० बजेट आफ्ना सामान पोका पारेर घर फर्किएका थिए ।
विराटनगर महानगरपालिकाले हाटबजार बन्द गरेपछि यहाँका सुपर मार्केटहरु भने खुला छन् । विराटनगरको भाटभटेनीमा शुक्रबाट उपभोक्ताहरुको ठूलो घुँइचो लागेको थियो । हजारौं उपभोक्ताहरु सुपर मार्केटमा जम्मा हुँदा पनि त्यहाँ सुरक्षाको कुनै उपयुक्त विधि अपनाइएको छैन । न त ज्वरो परीक्षण गर्ने थर्मोगनको प्रवन्ध गरिएको न त हात धुने र स्यानिटाइजरको प्रयोग गरिएको छ । खुला बजारहरुमा कडाई गरेपनि महानगरले यहाँका सुपरमार्केटको सुरक्षामा कुनै ध्यान दिएको छैन ।
कोरोना संक्रमणप्रति सरकार संवेदनशील भएको र आइतबारदेखि सबै सार्वजनिक सवारी साधनसमेत बन्द गर्ने घोषणा गरेपछि बल्ल विराटनगर महानगरपालिकाले निजी अस्पताल र अन्य पक्षसंग छलफलमा जुटेको छ ।