साना नाकाहरु बन्द गर्न प्रदेश सरकारको माग

प्रदेश १ कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकका १२ निर्णय

विराटनगर । प्रदेश १ का साना नाकाहरु पनि बन्द गर्न प्रदेश सरकारले केन्द्र सरकारसमक्ष माग गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मुख्यमन्त्री शेरधन राई अध्यक्ष रहेको कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले यस्तो माग गरेको हो ।

यस्तै कोरोना नियन्त्रणका लागि केन्द्र सरकारको निर्णय कार्यालय गर्ने, प्रदेश १ अन्तर्गतका प्रमुख नाकाहरु नेपाल सरकारसङ्ग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्ने साथै साना नाकाहरुमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, प्रदेशस्थित सबै सरकारी तथा गैह्रसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरुमा निर्देशन दिने ।

उपरोक्त व्यवस्था डिपार्टमेन्टल स्टोर तथा निजी अस्पतालहरुमा समेत गर्न निर्देशन दिने, बढी मानिसहरुको जमघट हुने मेला, हाटबजार तथा बनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने, प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु (दर्ता, नविकरण, सवारीचालक अनुमतीपत्र) २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने । सो अवधिभर गराउनुपर्ने त्यस प्रकृतिका कार्यहरुमा लाग्ने थप जरिवाना साविक बमोजिम नै लिने निर्णय पनि उक्त समितिले गरेको छ ।

यस्तै बढी जनसम्पर्क हुने कार्यालयहरुमा भिडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने, भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुबिधामा आउने भारतीय सवारी साधनहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने, प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य शुरु गर्ने, न्युनतम दश बेडको भेन्टीलेटर सहित ५० शैयाको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र स्थापना गर्ने ।

यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने । आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारले कोरोनाको परिक्षणको लागि कोशी अस्पताल र वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने, अस्पतालको सुरक्षा आन्तरीक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरक्षा निकायले गर्ने र दैनिक रुपमा समग्र अनुगमन गर्न मुख्यमन्त्री अध्यक्ष रहेको अनुगमन समितिसमेत निर्माण गरिएको छ ।

शुक्रबार, ०७ चैत, २०७६, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर