विराटनगर । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपाल सरकारले त्यस बाट सुरक्षित रहन सम्पूर्ण नागरिकलाई आव्हान गरेको छ । सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा स्थगित गरेको छ भने मानिसको भिड हुने वा ठुलो समूह भेला हुने सबै प्रकारका कार्यक्रमहरु नगर्न आव्हान गरेको छ ।
सरकारले अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र यात्रा नगर्न पनि भनेको छ । सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न र २५ जना भन्दा धेरै भेला नहुन पनि सार्वजनिक रूपमा आव्हान गरेको छ ।
प्रदेश सरकारले व्यक्तिगत सफाईमा ध्यान दिन र साबुन पानीले हात धोएरमात्र सार्वजनिक स्थलमा प्रवेश गर्न निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार अधिकांश सरकारी कार्यालयहरुमा स्यानिटाजर लगाउनै पर्ने वा साबुन पानीले हात धुने प्रवन्ध गरिएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन पूर्वसचेतनाका लागि सरकारले थुप्रै निर्देशनहरु जारी गरेको भएपनि मानिसहरुको धेरै भिडहुने र बाक्लो आवतजावत हुने विराटनगरका ठूला मलहरूले भने त्यसमा ध्यान दिएको पाइएको छैन ।
विराटनगरको भाटभटेनी प्रवेश गर्नुअघि कुनै जाँच गरिदैन । न स्यानिटाइजर लगाउने व्यवस्था छ न हात धुने प्रवन्ध गरिएको छ । दैनिक हजारौं उपभोक्ताहरु भाटभटेनी प्रवेश गर्ने गरेका छन् जहाँ उपभोक्ताको सुरक्षामा थोरैपनि संवेदनशिलता अपनाइएको छैन । यसैगरी विराटनगरका अन्य सुपरमार्केटहरु पनि यसप्रति सचेत भएको देखिएको छैन ।