अत्यावश्यक कामबिना बाहिर ननिस्कन आग्रह

स्कूल, कजेल, डान्सबार, सिनेमाघर, स्वीमिङ पुल बन्द

स्कूल, कजेल, डान्सबार, सिनेमाघर, स्वीमिङ पुल बन्द
काठमाडौं । कोरोना भाइरसको जोखिमबाट सतर्क रहन सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आम नागरिकलाई आह्वान गरेको छ ।

बुधबार बसेको कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

सरकारले पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले होटेल र सार्वजनिक सवारीलाई ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरेको छ । भीडभाड गरी यात्रा नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ । सरकारले कोरोना भइरस (कोभिड १९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पनि पूर्ण प्रतिबन्ध गरेको छ ।

बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो प्रतिबन्ध शुक्रबारबाट १५ अप्रिलसम्म कायम रहनेछ । यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्ने बताइएको छ ।

बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गरिनेछ । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गरिनेछ ।

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको छ । होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध अनिवार्य गर्ने तथा नियमित रुपमा डिसइन्फेक्सन गर्नुपर्ने निर्णय गरिएको छ ।
यस्तै यसअघि प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय भएको छ । बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (कोभिड(१९) सम्बन्धी भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ । कुनैपनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको छ ।

बुधबार, ०५ चैत, २०७६, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर