विराटनगर । नेपाल विद्युत् प्राधिकरण इटहरी विरतण केन्द्रले सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिलको पनि विद्युत् लाइन काटिदिएको छ ।
औद्योगिक ग्राहक रहेको उक्त उद्योगले हालसम्म १ अर्ब ५० करोड रुपैयाँ विद्युत् महशुल तिर्न बाँकी रहेको विद्युत् प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो कार्यालय मातहतका तर महशुल नतिर्ने ठूला उद्योगको लाइन काट्ने काम सुरु गरिएको बताउनु भयो ।
यता विराटनगर विद्युत् वितरण केन्द्रले पनि आजै विराटनगर रानीस्थित रघुपति जुटमिलको लाइन काटिदिएको थियो । उक्त जुटमिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।