लोड हुँदैछ...

मेनु

शौभाग्यवतीलाई सचेतक नियुक्त गर्दै नेकपा संसदीय दलको बैठक सम्पन्न

सरकारको कामबारे अर्को बैठकमा समिक्षा हुने

सरकारको कामबारे अर्को बैठकमा समिक्षा हुने

शौभाग्यवतीलाई सचेतक नियुक्त गर्दै नेकपा संसदीय दलको बैठक सम्पन्न

विराटनगर । संसदीय दलको सचेतक नियुक्ति र दलको विधान पारित गर्ने निर्णय गर्दै सोमबार बसेको नेकपा संसदीय दलको बैठक सम्पन्न भएको छ ।

बैठकले दुई वर्षपछि संसदीय दलको विधान पारित गरेको छ भने रिक्त रहेको सचेतक पदमा भोजपुरकी प्रदेशसभा सदस्य सौभाग्यवती राईलाई नियुक्त गरेको छ ।
दलको नेताले मनोनित गर्ने विधानको व्यवस्था अनुसार राईले सचेतकमा सौभाग्यवतीलाई नियुक्त गर्नुभएको हो । लामो समयपछि बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको काम कारवाही र सरकार सञ्चालन पद्दतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा सरकारको काम कारवाहीको विषयमा छलफल गर्न नसक्ने भएकोले १५ दिनभित्र अर्को बैठक बस्ने निर्णय भएको छ ।

अबको बैठकमा सरकारले गरेको कामहरुको सुची र भिजुअलसहित छलफल गर्ने तथा त्यसमा हरेक मन्त्रालयले गरेका कामहरुको विवरण प्रस्तुत गर्ने मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । मुख्यमन्त्रीको आश्वासनपछि मंगलबारको बैठकमा सरकारप्रति ठूलो असन्तुष्टि प्रकट भएन । मुख्यमन्त्री राईले भन्नुभयो ‘साढे २ वर्षको मध्यावधि मूल्यांकन गर्ने काम हुन्छ । कहाँबाट काम सुरु ग¥र्यौ, अहिले कहाँ पुगेका छाँैं र अबको तार्गेट के हो भन्ने विषयमा हामी बसेर मध्यावधि समिक्षा गर्छौ ।’

बैठक अहिलेसम्म सरकारले गरेको बजेट खर्चको अवस्थाको विषयमा पनि छलफल भएको छ । सरकारले बजेट खर्चमा उल्लेखनीय प्रगति गर्न नसकेको भन्दै केही सदस्यहरुले आलोचना गरेका थिए । मुख्यमन्त्री राईले अहिलेसम्म ३० प्रतिशत पूँजीगत खर्च भएको र यो अन्य प्रदेशको तुलनामा बढी नै रहेकोले सन्तोष मान्नुपर्ने जवाफ दिनुभएको थियो ।

बैठकमा नेकपाको भूमिका, सदस्यहरुको भूमिका र सरकारको कामको सामान्य समिक्षा गर्ने काम भएको मुख्यमन्त्री राईले बताउनुभएको छ । उहाँले प्रदेशसभा सदस्यहरुको भूमिकालाई थप सशक्त बनाउने र क्षमता अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

बैठकमा प्रदेशको नामको विषयमा पनि सामान्य छलफल भएको छ । यसअघि राजधानी टुंग्याउने बेलामा नै सबैको मतहरु लिइसकेकोले अब यसै अधिवेशनबाट नाम टुंग्याउने गरी आगामी बैठकमा छलफल गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । वृहद् विराट क्षेत्र सम्बन्धी कानून र त्यसको म्याण्डेट अनुसार सरकारले व्यवस्थापिका र कार्यपालिकाको कार्यालय निर्माण सम्वन्धी काम अगाडि बढाउने उहाँले बताउनुभएको छ ।

बैठकमा केही सदस्यहरुले सरकारका मन्त्रीहरुले मात्रै चुनाव जित्नेगरी काम गरेको र योजना र बजेटमा पक्षपात भएको भन्दै असन्तुष्टि जनाएका थिए । मुख्यमन्त्री राईले ५६ वटै निर्वाचन क्षेत्रमा सन्तुलित विकास गर्नुपर्छ भन्ने विषयमा सिंगो नेकपालाई राम्रो हेक्का रहेको बताउनुभयो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको आगामी बैठक १५ दिनभित्र हुने र कम्तिमा दुई दिन बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिनुभयो । बैठकमा सरकारको कामबाट नतिजा नदेखिएको, बहुवर्षीय आयोजनाहरुको प्रगति नभएको भन्दै आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।