लोड हुँदैछ...

मेनु

कोरोना भाइरसको कहर

विश्वभर ८० हजार संक्रमित निको भएर घर फर्के

विश्वभर ८० हजार संक्रमित निको भएर घर फर्के

मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ७ हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

उपचाररतमध्ये ९२ हजार ५५९ जना अर्थात् ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने छ हजार ४९१ अर्थात् सात प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण रहेको छ । चीनमा मङ्गलबारसम्म ८० हजार ८८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै चीनमा नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा सङ्क्रमण भएको र २ हजार १५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै इरानमा १६ हजार १६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको भने मङ्गलबार थप १ हजार १७८ जनामा सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ९८८ पुगेको छ ।

स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको छ भने अहिलेसम्म ४९१ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी पुगेको छ ।

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र यूरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भएपनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर एक अङ्कमा झरेको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।

सङ्क्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने ४ हजार ७४४ जनामा सङ्क्रमण भेटिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।