हेल्थडेस्क अनुगमनमा संसदीय समिति

हेल्थडेस्कमा काम गर्ने स्वास्थ्यकर्मी नै जोखिममा

विराटनगर । प्रदेशसभाको सामाजिक विकास समितिले कोरोनाको संक्रमण रोक्न रानी भन्सार नाका विराटनगरमा राखिएको हेल्थडेस्कको अनुगमन गरेको छ ।

नाकारमा राखिएको हेल्पडेस्क प्रभाबकारी नभएको समाचार हाम्रोमत दैनिकमा प्रकाशित भएपछि समितिले सोमबार अनुगमन गरेको हो ।

फागुन २२ गतेदेखि स्थापना गरिएको हेल्थडेस्क प्रभाबकारी नभएको विषय बाहिर आएपछि अनुगमन गरेको समितिका सभापति सरिता थापाले बताउनुभयो । हेल्थ डेस्कमा चार जना मात्र स्वास्थ्यकर्मी रहेको र नाकामा नागरिकको बाक्लो आवतजावत रहेकोले जनशक्ति अभाब देखिएको उहाँको भनाइ छ । यस्तै उनीहरुको लागि आवश्यक उपकरण र मास्क, पञ्जा तथा पोसाकको पनि अभाब रहेको पाइएको उहाँको भनाइ छ ।

नाकामा अझै स्वास्थ्यकर्मी र हेल्पडेस्क थप गर्न आवश्यक भएको थापाले बताउनुभयो । हेल्थडेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरु नै जोखिममा रहेको भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा सामाजिक विकास समितिका सदस्य सांसदहरू केदार कार्की, साबित्रा रेग्मी, झलकसिँह दर्लामी, लक्ष्मण तिवारी, निरन राईलगायत सहभागी हुनुहुन्थ्यो ।

सुरक्षाकर्मीहरुले भारतबाट आउने यात्रुहरुलाई लाइन लगाएर हेल्थ डेस्कमा जाँच गराउन लगाउने गरेको भएपनि सुरक्षाका लागि कुनै प्रबन्ध नगरिएको अनुगमनको क्रममा भेटिएको थियो । ‘हेल्थडेक्समा बस्नेहरुको स्वास्थ्य सुरक्षाको लागि कुनै प्रवन्ध देखिएन’ थापाले भन्नुभयो, ‘हेल्थ डेस्कले ज्वरो जाँचलाई प्राथमिकता दिएको र हालसम्म डेस्कबाट दुई जनालाई ज्वरो आएको भटिएकोले उपचारका लागि पठाएको जानकारी आएको छ ।’

मुख्य प्रवेशद्वारबाट आएकाहरुको परीक्षण भएको देखिएपनि खुल्ला सिमाना भएकाले अन्य द्वारबाट प्रवेश गरिरहेकाहरु चुनौति रहेको अनुगमन टोलीले जनाएको छ । समितिले कोरोनाको उपचारको लागि बनाइएका आइसोलेशन वार्डहरुको बारेमा सरकारसँग जानकारी मागेको जनाएको छ । मन्त्रालयले जानकारी गराएपछि अस्पतालहरुको तयारीबारे अनुगमन गर्ने सभापति थापाले बताउनुभयो ।

सोमबार, ०३ चैत, २०७६, रातीको ०९:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर