विराटनगर । कोरोना भाइरसबाट संक्रमित भएको विरामीकोे उपचार गर्नको प्रदेश सरकारले गत फागुन २१ गते विराटनगरस्थित कोशी अस्पतालसहित ४ अस्पतालमा २८ बेडको आइसोलेन वार्ड तयार भएको जानकारी दिएकोमा कोसीमा अझै तयार भएको छैन ।
कोरोना भाइरस संक्रमितलाई उपचार गर्न कोशीमा ५ शैय्याको आइसोलेसन वार्ड तयारी भएको जानकारी सामाजिक विकासमन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गरेर दिनुभएको थियो ।
विराट मेडिकल कलेजमा १२, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र नोबेल मेडिकल कलेजमा आइसीयूसहितको १ आइसोलेन वार्ड तयार भएको सरकारले जनाएको थियो । तर, तयार भएको घोषणा भएको ११ दिन वित्दापनि कोशीको आइसोलेशन वार्ड तयार भएको छैन ।
केही दिन अगाडि विदेशबाट आएका एक व्यक्ति र शुक्रबार कोशी अस्तपालमा आएका अर्का व्यक्तिलाई कोरोनाको आशंका गरिएकोमा आइसोलेशन वार्ड नभएकै कारण बिपीमा रेफर गरेको थियो । सरकारले तयार भएको भनेको वार्ड निर्माणको क्रममा रहेको छ । आइतबार दिउँसो पुग्दा आइसोलेशन वार्ड बनाउन ५ कामदार सक्रिय रहेको देखिन्थे ।
कोसी अस्पतालकी मेसु डा.संगीता मिश्रले आइसोलेशन वार्ड निर्माणको क्रममा रहेको बताउनुभयो । मंगलबारसम्म निर्माण पूरा हुने बताउँदै उहाँले सरकारले ५ बेडको वार्ड बनाउने भनेकोमा ठाउँ अभाबले ३ बेड मात्र बन्ने जानकारी दिनुभयो ।
विराटले भने १२ शैय्याको आईसोलेसन वार्ड बनाएको जनाएको छ । विराट मेडिकल कलेजका सुधिरसिंह राठोरले कोरोना संक्रमित विरामीको उपचारको लागि कलेज तयार रहेको जानकारी दिनुभयो । वार्डमा निगरानीको लागि डाक्टर र नर्स पनि तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । धरानको विपीमा १० शैय्याको आइसोलेसन वार्ड तयार रहेको बताइएको छ ।