विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व आज तराईमा मनाइँदैछ ।
कोरोना भाइरसका कारण विगत वर्षहरुमा जस्तो होलि उल्लासपूर्ण भने हुन सकेन । बजारमा फाट्ट फुट्ट होली खेल्नेहरु देखिएपनि विगतमा जस्तो हुलका हुल होली खेल्नेहरु देखिएका छैनन् । विराटनगरमा पनि यसको असर प्रत्यक्ष परेको छ । सामूहिक रुपमा भन्दा आफ्नो परिवारमा सीमित भएको यस वर्षको होली मानिसहरुले घरघरमा मात्रै मनाइरहेका छन् ।
यस वर्ष नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेकाले प्रशासनले शान्तरूपमा पर्व मनाउन आह्वान गरेको थियो । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
चिसो नघटेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्नसक्ने भएकाले पनि आम मानिस यस वर्ष सचेत भएका देखिन्छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रूपमा फागु मनाउने गरिएको हो ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।