मकैबारीमा हात्तीको आतंक

विर्तामोड । भारतसँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले दाना लाग्न लागेको मकैबारी नष्ट गरेको छ ।
हात्ती आतंक रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको भएपनि साबिक घेरावारी गाविस २ हाल कचनकवल १ मा करिब १० विगहामा किसानले लगाएको मकै हात्तीले नष्ट गरेको हो ।

तीन रात जंगलबाट आहारको खोजीमा निस्किएको हात्तीले स्थानीय धनिलाल यादव, नारायणसिंह राजवंशी, अचालु यादव, देवलाल यादव र वासुदेव राजवंशीको मकै खेती नष्ट गरिदिएको हो । हात्तीले करिब ५ लाख रुपैयाँभन्दा बढीको खेती नष्ट गरिदिएको स्थानीय कृषकले पीडा पोखेका छन् ।

बिहीबार रातिबाट गाउँ पसेको हात्तीको समूहले मकैखेतीमा उपद्रो मच्चाएको हो । धान बेचेर र साहूबाट ऋण लिएर ६ विघामा मकै खेती लगाएकोमा हात्तीले नष्ट गरेको किसानहरुले बताएका छन् ।

हात्तीले दान निस्किसकेको पूरै मकैखेती नष्ट गरिदिएको कृषक नारायणसिंह राजवंशीले बताउनुभयो । गाउँमा दिनहुँ जसो हात्तीले क्षति पु¥याउँदै आएपनि संघीय, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि आएर नहेरेको स्थानीयको गुनासो छ ।

हात्तीले गरेको क्षतिको विवरण संकलन गरेर राज्यले पीडामा रहेका कृषकलाई तत्काल क्षतिपूर्ति दिलाउनु पर्ने स्थानीयले माग गरेका छन् । कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जलथल हुँदै भद्रपुरको विशाल सामुदायिक वनसम्मको ३७ किलोमिटरसम्म हात्ती नियन्त्रणका लागि तारबार लगाइएको छ । तर, पनि हात्तीको आतंक रोकिएको छैन ।

आइतबार, २५ फागुन, २०७६, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर